दशरथ रंगशालामा नेपाल र युएईबीचकाे खेल नहुने

52

काठमाडौं । नेपाल र युएईबीच दशरथ रंगशालामा हुने तय भएको खेल नहुने भएको छ । दशरथ रंगशालामा मापदण्ड नपुगेको भन्दै एसियन फुटबल महासंघ (एएफसी)ले जेठ २४ मा हुने खेल ‘न्युट्रल भेन्यु’मा गर्न निर्देशन दिएको छ ।

‘दशरथ रंगशालाको मापदण्ड नपुगेको भन्दै प्रतियोगिता न्युट्रल भेन्युमा गर्न एएफसीले निर्देशन दिएको छ,’ एन्फा स्रोतले खेलाडीलाई भन्यो ।

यद्यपि एएफसी र एन्फा दुबैले खेल नहुने विषय सार्वजनिक गरेका छैनन् । युएईविरुद्ध खेल नहुने भएपछि एन्फाले आज त्यसको निर्णय गर्न छलफल गर्दैछ । पहिलो लेग युएईमा हुँदा नेपाल ४–० ले पराजित भएको थियो ।

फिफा विश्वकप २०२६ छनोटअन्तर्गत दोस्रो चरणमा नेपाल र युएईबीच खेल हुँदैछ । त्यसअघि वैशाख २० र २१ गते दशरथ  रंगशालाको निरिक्षणमा आएको एएफसीका प्रनिनिधिले मैदानको दुबो र माटो सतह तथा फ्लड लाइट र सुरक्षाको विषयमा प्रश्न उठाएका थिए ।

त्यसपछि यही विषयमा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले पनि चासो राखेका थिए । यही विषयमा संसदीय समितिमा पनि प्रश्न उठेको जवाफमा मन्त्री विराजभक्त श्रेष्ठ, राखेप सदस्य सचिव टंकलाल घिसिङ र अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष पंकजविक्रम नेम्वाङले उत्तर दिएका थिए ।

एएफसीको केन्द्रिय सदस्य समेत रहेका एन्फा अध्यक्ष नेम्वाङले नेपालमै खेल गराउन प्रयासरत रहेको बताएपनि असफल भएका छन् ।

उनले संसदीय समितिमा उठेको प्रश्नको जवाफ दिँदै भनेको थिए, ‘युएईविरुद्धको खेल नेपालमै खेलाउन प्रयत्न गरिरहेका छौं । एएफसीका प्रतिनिधिले खेल्न उपयुक्त नभएको रिपोर्ट दिएका छन् । एएफसीका साथीसँग निरन्तर सम्वाद भइरहेको छ । नेपालमै खेल्ने वातावरण बन्नेछ ।’

पछिल्लो पटक नेपाल र बहराइनविरुद्ध खेल पनि दशरथ रंगशालाको मापदण्ड पुगेको भन्दै बहराइन पुर्याइएको थियो । चैत ८ गते भएको खेलमा नेपाल ५–० ले पराजित भएको थियो । चैत १३ गते नेपाल पुनः ३–० ले पराजित भएको हो ।

समूह ‘एच’ मा रहेको नेपाल यसअघिका चार खेलमा लगातार पराजित हुँदै विश्वकप छनोटबाट बाहिरिसकेको छ । समूहमा १२ अंकसहित युएई तेस्रो चरणमा प्रवेश गरेको छ । बहराइनको सम्भावना उत्तिकै छ । तीन अंकको यमन र नेपालले एएफसी कप २०२७ को तेस्रो चरण छनोट खेल्नेछन् ।

यस्तै, नेपाल र यमनबीच यमनमा हुने खेल साउदी अरेबियामा हुने तय भएको छ । यसअघि नेपालले यमनविरुद्ध दशरथ रंगशालामा अन्तिम खेल खेलेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here