काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समग्र संकटग्रस्त सहकारीको अध्ययन गर्न समिति बनाउने गरी सहमति खोज्ने प्रयास भइरहेको जनाएका छन् ।
प्रधानमन्त्री प्रचण्डले जीबी राईलाई यसअघिको सरकारले भगाएको भन्ने कुरा कुतर्क रहेको टिप्पणी गरे । कानुनी जटिलता हटाएर राईलाई स्वदेश ल्याउन सरकारले पहल गरिरहेको उनले बताए । उनले नीति तथा कार्यक्रमलाई अन्तिम रूप दिएको र सोमबार मुख्य सचिवले राष्ट्रपतिलाई नीति तथा कार्यक्रम बुझाउने जानकारी दिए ।
प्रधानमन्त्री प्रचण्डले संघीय संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कुरामा कुनै समस्या नहुने समेत बताए । त्यस्तै उनले यसअघि कांग्रेसलाई राष्ट्रपति दिएर अन्य प्रमुख पद सबै दलहरूलाई दिन खोज्दा कुरा बिग्रिएको भन्दै कांग्रेसले आफूलाई र आफूले कांग्रेसलाई नकारात्मक रूपमा लिनुपर्ने कुनै कारण नभएको धारणा राखे ।

















