काठमाडौं । काठमाडौं महानगरपालिकाले दर्ता नभएका बस टिकट बुकिङ काउण्टर हटाउन सुरु गरेको छ । काठमाडौंको ट्राफिक व्यवस्थापनलाई चुस्त र यात्रुमैत्री बनाउने उद्देश्यले महानगरले दर्ता नगरी सञ्चालनमा आएका टिकट बुकिङ काउण्टर हटाउन सुरु गरेको हो ।
कलङ्की र बल्खु क्षेत्रमा पनि दर्ता नभएका काउन्टर हटाउन सुरु गरिएको प्रहरी प्रमुख पाण्डेले बताए । महानगर प्रहरीले चावहिलमा अनाधिकृत रुपमा निर्माण गरिएका १० काउण्टर डोजर लगाएर भत्काएको जनाएको छ ।
यस्तै, बुकिङ कार्यालयमा अनिवार्य भाडादर उल्लेख गरिएको बोर्ड राख्नुपर्ने, टिकट काट्न आउने सेवाग्राहीका लागि अनिवार्य आधारभूत आवश्यकता (पार्किङ, शौचालय, पानी, बत्ती बस्ने)लगायत व्यवस्था हुनुपर्ने, कार्यालयका कोठा कम्तीमा १० देखि १५ फिटको हुनुपर्ने, कर्मचारीले पोसाक र परिचयपत्र अनिवार्यरुपमा लगाउनुपर्नेलगायत व्यवस्था गरेको छ ।
यसअघि महानगरले काठमाडौंभित्र जथाभाबी रुपमा टिकट बुकिङ कार्यालय खोल्ने तथा सडकमा यात्रुलाई चढाउने सवारी साधनलाई नयाँ बसपार्कभित्रबाट मात्रै सञ्चालन गर्ने व्यवस्था गरेको थियो । सोही व्यवस्थाअनुसार अहिले अधिकांश सवारीसाधन नयाँ बसपार्कभित्रबाट सञ्चालन हुँदै आएका छन् ।


















