पोखरा । पोखरामा बचतकर्ताको रकम हिनामिना गर्ने सहकारीको सूचीमा प्राइम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड पनि थपिएको छ।
बचतकर्ताको निक्षेप फिर्ता नगरेपछि सहकारीका अध्यक्षसहित ८ जना पक्राउ परेका छन्। मंगलबार जिल्ला प्रहरी कार्यालय कास्कीले पदाधिकारी शेयर सदस्य र कर्मचारीसहित ८ जनालाई पक्राउ गरेको हो।
पोखरा महानगरपालिका–४ गैरापाटनमा कार्यालय रहेको सहकारीले बचत रकम फिर्ता नगरेको भन्दै बचतकर्ताले सहकारी रजिष्ट्रारको कार्यालय गण्डकीमा उजुरी दिएका थिए। उजुरीउपर कार्यालयले छानविन गर्दा सहकारीको रकम हिनामिना, अपचलन र ठगी गरेको पुष्टि भएको हो।
सहकारी रजिष्ट्रारको कार्यालय गण्डकीले पत्र पठाएपछि रकम अपचलनमा संलग्नलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी वसन्तकुमार शर्माले जनाए।
सहकारी रजिष्ट्रारको कार्यालयले एक अर्ब ५४ करोड १५ लाख आठ हजार १४२ रुपैयाँ ८५ पैसा रकम अपचलन भएको जाहेरी दिएको शर्माले जानकारी दिए। ‘सहकारी ऐन २०७४ बमोजिम अनुसन्धान गर्नलाई सहकारी रजिष्ट्रारको कार्यालयले पत्रचार गरेको छ’, उनले भने।
मंगलबार पत्र प्राप्त हुनसाथ कास्की प्रहरीले सञ्चालक समितिलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा सहकारीका निर्वतमान अध्यक्ष ६६ वर्षीय निदेशप्रसाद कोइराला, अध्यक्ष ४३ वर्षीय शंकर कार्की, प्रबन्धक, ३६ वर्षीय निरु थापा, कर्मचारी प्रमुख ३७ वर्षीय सुरेन्द्रमणि पौडेल, कानुनी सल्लाहार ५३ वर्षीय इन्द्रप्रसाद बराल रहेका छन्।
सहकारीका कोषाध्यक्ष ५२ वर्षीय कुलदीप भट्टराई, कर्जा अधिकृत ३० वर्षीय सुनिल थापा, शेयर सदस्य, ६९ वर्षीय मानबहादुर गुरुङलाईसमेत प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीले प्राइम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका रकम फिर्ता नपाएका बचतकर्तालाई उजुरी दिन अनुरोध गरेको छ।
मंगलबार जारी गरिएको सूचनामा सहकारीविरुद्ध सहकारीमा रकम जम्मा गरेको आधार देखिने शेयरधनी प्रमाणपत्र, पासबुक, भौंचर, स्टेटमेन्ट, मुद्दती प्रमाण पत्र लगायत परिचय खुल्ने प्रमाणपत्रसहित जेठ २० भित्र उजुरी दिन बचतकर्तालाई आग्रह गरिएको हो।
पोखरामा यसअगाडि नै सूर्यदर्शन, शिवशिखर, इमेज, मित्रमिलन, बलिदानी र विन्दवासिनी बचत तथा ऋण सहकारी संस्थाले बचतकर्ताको रकम हिनामिना गरेका छन्। यी सहकारीविरुद्ध प्रहरीले अनुसन्धान गरिरहेका छन्। ६ सहकारीका बचतकर्ताको झन्डै ३ अर्ब रुपैयाँ सञ्चालकले हिनामिना गरेका हुन्।


















