काठमाडौं । स्वास्थ्य सेवा विभागले एक वर्षमा तालिम, गोष्ठी र सेमिनारमा मात्र ५० करोडभन्दा बढी रकम खर्च गरेको पाइएको छ।
महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार विभागले तालिम, गोष्ठी र सेमिनारका नाममा ४ सय कार्यक्रममा ५० करोड २७ लाख १ हजार खर्च गरेको हो।
महालेखापरीक्षकको ६१ औं प्रतिवेदन अनुसार विभागले एक वर्षमा गरेको कूल ३ अर्ब १५ करोड ५१ लाख ८४ हजार खर्च मध्ये उक्त सूचीमा सो रकम खर्च गरेको हो।
‘स्वास्थ्य सेवा विभागले यो वर्ष खर्च गरेको रू. ३ अर्ब १५ करोड ५१ लाख ८४ हजारमध्ये तालिम, गोष्ठी र सेमिनार जस्ता करिब ४०० वटा क्रियाकलाप समावेश गरी कार्यक्रम खर्च शीर्षकमा मात्र रू.५० करोड २७ लाख १ हजार खर्च भएको छ।
यस्ता कार्यक्रम सङ्घीय तथा प्रदेश तालिम केन्द्र, प्रदेश र स्थानीय तहमा हस्तान्तरण गर्नुपर्नेमा विभाग आफैँले सञ्चालन गरेको छ। तालिम कार्यक्रमहरू सञ्चालन हुनुभन्दा निकै अगाडि पेस्की दिने, समयमा पेस्की फस्र्योट नगर्ने, विभिन्न होटल तथा आपूर्तकलाई नगदमा भुक्तानी गर्ने, विभागले सवारीसाधन उपलब्ध गराएका कर्मचारीलाईसमेत यातायात खर्च भुक्तानी गर्ने गरेको, एउटै कर्मचारीलाई पटक पटक पेस्की दिएको जस्ता बेहोरा देखिएका छन्। यस प्रकारको तालिम कार्यक्रममा पुनरावलोकन हुनुपर्दछ,’ प्रतिवेदनमा भनिएको छ।


















