काठमाडौं । शैक्षिक सत्र २०८० मा विद्यालय तहका विद्यार्थीको टिकाउ दर क्रमशः बढ्दै गएको दाबी गरिएको छ। अर्थमन्त्री वर्षमान पुनद्वारा आइतबार प्रस्तुत आर्थिक सर्वेक्षण, २०८०/८१ मा शैक्षिक सत्र २०८० मा कक्षा आठसम्मको टिकाउ दर ८६ दशमलव दुई प्रतिशत, कक्षा १० सम्मको टिकाउ दर ६९ दमशलव ९ प्रतिशत र कक्षा १२ सम्मको टिकाउ दर ३७ दशमलव दुई प्रतिशत पुगेको उल्लेख गरिएको छ।
शैक्षिक सत्र २०७९ मा विद्यार्थीको टिकाउ दर कक्षा आठ, कक्षा १० र कक्षा १२ सम्म क्रमशः ८५ दशमलव सात, ३७ दशमलव तीन र ३५ दशमलव ६ प्रतिशत रहेको थियो। प्रारम्भिक बाल विकास केन्द्र र पूर्व प्राथमिक कक्षा सञ्चालन बढेपछि औपचारिक शिक्षाको गुणस्तर वृद्धिमा योगदान पुगेको हो।
सर्वेक्षणमा शैक्षिक सत्र २०८० मा माध्यमिक तह (९-१२) को खुद भर्नादर गत वर्षको भन्दा शून्य दशमलव पाँच प्रतिशतले बढेर ५७ दशमलव नौ पुगेको उल्लेख गरिएको छ। यसैगरी कक्षा १ मा खुद भर्नादर ९५ दशमलव सात तथा आधारभूत तह (१-५) मा ९५ दशमलव ५ र कक्षा १-८ मा ९५ दशमलव एक प्रतिशत रहेको छ।


















