पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे ५३ दिनपछि बुधबार फेरि सत्तामा फर्किए। सर्वोच्च अदालतको परमादेशबाट संविधानको धारा १६८ को उपधारा (३) अनुसार पाण्डे मुख्यमन्त्री नियुक्त हुँदै प्रदेश सरकारको बागडोर सम्हाल्न फर्किएका हुन्।
दोस्रो पटक मुख्यमन्त्री बनेको पाण्डे गण्डकी सरकारको नेतृत्वमा कति दिन रहन्छन्? उनको दिन गन्ती सुरु भइसकेको छ। कारण, उनीसँग स्पष्ट बहुमत छैन । बहुमत पुर्याउने उनको कसरतले काम गर्ने टुंगो पनि छैन। बहुमत पुर्याउन नसकेकै कारण पाण्डेले यसअघि चैत २१ गते राजीनामा दिएका थिए।
६० सदस्यीय गण्डकी प्रदेश सभामा बहुमत पुर्याउन ३१ सांसदको समर्थन चाहिन्छ। प्रदेश सभामा कांग्रेसका २७, नेकपा एमालेका २२, माओवादी केन्द्रका सभामुखसहित ८, राप्रपाका २ र स्वतन्त्र निर्वाचित भई नेकपा एकीकृत समाजवादी रोजेका राजीव गुरुङ (दीपक मनाङे) छन्। पाण्डे सरकारलाई टिकाइराख्न कांग्रेसबाहेक थप ४ सांसदको समर्थन आवश्यक हुन्छ।
मुख्यमन्त्री पाण्डेले विश्वासको मत पाउने आशमा आफूसँगै राप्रपा र दीपक मनाङेलाई सँगै शपथ खुवाउने चाहन्थे। तर, दुवै तत्काल सरकारमा जानलाई इच्छुक भएनन्। उनीहरुको रणनीति पर्ख र हेरको छ। राप्रपा र मनाङेले तत्काललाई मन्त्री पद अस्वीकार गरेपछि पाण्डेले कांग्रेसकै डा. टकराज गुरुङ र विन्दुकुमार थापालाई सत्ता सारथी बनाएका छन्।
उसो त राप्रपा सरकारमा नगए पनि अहिले एमाले–माओवादी गठबन्धनभन्दा बढी कांग्रेससँग लचिलो छ। त्यसैले राप्रपाको साथ पाउनेमा पनि मुख्यमन्त्री आसावादी देखिन्छन्। राप्रपा संसदीय दलका नेता पञ्चराम तमुले पनि मध्यमार्गी रणनीति अपनाए सहकार्य गर्न सकिने जनाउँछन्।
‘हामीले जानै नहुने भनेका छैनौँ। यो सम्पूर्ण जिम्मेवारी सबभन्दा ठूलो पार्टीले लिन सक्नुपर्यो’, उनी भन्छन्, ‘उहाँहरुले जिम्मेवारी लिएर सहकार्य छलफल गरेर हामी आउनुपर्छ मध्यमार्गी अपनाउनुपर्छ भन्ने सोच्नुभयो भने त बाटो खुला छ। हामी भाग्दैनौँ।’ छलफल र सहकार्य गरेर अगाडि बढ्न राप्रपा सदैव तयार रहेकोे उनको भनाइ छ।
राप्रपाले मात्रै साथ दिँदैमा पाण्डे सरकारको आयु लम्बिदैन। थप दुई सांसदको समर्थन चाहिन्छ। गण्डकीमा पाँच पटकसम्म मन्त्री बनेर रेकर्ड बनाएका दीपक मनाङेले साथ दिनेमा दुईमत छैन। जता काफल पाक्यो उतै चरी नाच्यो रणनीति अपनाउने मनाङेले पाण्डेकोे पक्षमा ३० जना पुगेको खण्डमा ३१ पुर्याउन आउने आश्वासन दिएको राजनीतिक वृत्तमा चर्चा छ।
मनाङेले साथ दिँदा पनि थप एक सांसदको साथ मुख्यमन्त्रीलाई नभइ हुँदैन। माओवादीबाट चुनाव चिह्न लिएर जितेका नेपाल समाजवादी पार्टीका सांसद फणीन्द्र देवकोटाले ‘फ्लोर क्रस’ गरेर विश्वासको मत दिनेमा मुख्यमन्त्री पाण्डेलाई झिनो आश छ। यसो हुँदा पाण्डेले विश्वासको मत पाउँछन्। र सरकारको आयु लम्बिन्छ। तर, देवकोटाले ‘फ्लोर क्रस’ गर्ने निश्चित छैन। देवकोटालाई माओवादीले ह्विप लाग्ने दाबी गर्दै आएको छ।
देवकोटा भने आफू नेसपाको सांसद भएकाले माओवादीको ह्विप नलाग्ने बताउँछन्। ‘मेरो दल नेपाल समाजवादी पार्टी छ। पार्टीले उचित समयमा उचित निर्णय लिन्छ’, देवकोटा भन्छन्, ‘कहिले कहिले राजनीतिक दलले आफ्नो दलभन्दा माथि उठेर प्रदेश सभा बचाउन सोच्नुपर्छ।’ सबै राजनीतिक दल मिलेर संयुक्त सरकार बनाएर भए पनि जनताको मतको कदर गर्नुपर्ने उनको भनाइ छ। मध्यावधि निर्वाचनमा जानबाट रोक्नुपर्ने उनले जनाए।
मुख्यमन्त्री पाण्डे पनि मध्यावधिमा जाने खतरा बढ्ने भएकाले उपाधारा (३) अनुसार नै विश्वासको मत लिने बताउँछन्। ‘उपधारा (५) मा जादैन (३) मा नै यो कुरा टुंग्याउनुपर्छ। (५) मा गयो भने यो कुरा बहुत रिस्की हुन्छ’, उनी भन्छन्, ‘चुनावमा जाने खतरा बढ्छ। त्यसैले (३) मा नै टुंग्याउनुपर्छ। बरु सहमतिको आधारमा गण्डकी प्रदेशलाई कसरी अगाडि बढाउने भन्ने बारेमा राजनीतिक दलबीच बृहत्तर संवाद र सहमति कार्यन्वयन गर्न सकिन्छ।’
सत्ता जोगाउने मात्रै होइन बजेटको मुखमा दोस्रोपटक मुख्यमन्त्री बनेका पाण्डेलाई चुनौतीका चाङले घेरेको छ। बजेटका प्राथमिकता र सिद्धान्त पारित गरी बजेट ल्याएर पारित गर्नै चुनौती छ। संविधानअनुसार असार १ गतेभित्र बजेट ल्याउनुपर्ने व्यवस्था छ।
बिहीबार बसेको प्रदेश सभा बैठकमा बजेटको प्राथमिकता र सिद्धान्त प्रस्तुत भयो। प्राथमिकता र सिद्धान्तमा छलफल भएपछि पारित नगरिकन प्रदेश सभा अनिश्चितकालका लागि स्थगित गरिएको छ। पारित गर्नलाई बहुमत नपुग्ने भएपछि अध्यादेशबाट ल्याउनलाई प्रदेश सभा स्गगित भएको आँकलन छ। तर, संसदबाट नै बजेट ल्याउने मुख्यमन्त्री पाण्डेको दाबी थियो। बजेट अध्यादेशबाट आउँछ? शपथपछि पत्रकारले गरेको प्रश्नमा पाण्डेले भनेका थिए, ‘संसद भा’बेला पनि अध्यादेशबाट आउँछ त? संसदबाटै आउँछ नि।’
















