काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा लगातार तेस्रो कारोबार दिन पनि वृद्धि भएको छ । साताको पहिलो कारोबार दिन एकल अंकको सामान्य गिरावट भएको बजार परिसूचक नेप्से त्यसयताको ३ कारोबार दिनमा भने वृद्धि भएको हो ।
मंगलबार ३३.१५ अंकले बढेको नेप्से बुधबार ६.३७ अंक (०.३०) प्रतिशतले वृद्धि भएर २१२१.६२ को बिन्दुमा बन्द भएको छ । नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । सोमबार ५ अर्ब ४९ करोड बराबर कारोबार भएको बजारमा मंगलबार साढे ५ अर्ब नाघ्दा बुधबार करिब ६ अर्बको कारोबार भएको छ ।
यस्तै लघुवित्तमा पनि कम चुक्ता पूँजी भएर सेयर सप्लाई कम भएको कम्पनीको सेयर मूल्यमा ‘ट्रेडर’ हाबी भएको देखिन्छ । वित्त कम्पनी उपसूचक सर्वाधिक १.०७ प्रतिशतले वृद्धि हुँदा बैंकिङ उपसूचक ०.८३ प्रतिशत र लघुवित्त उपसूचक ०.८८ प्रतिशतले बढेको छ ।
हाइड्रोपावर उपसूचक सर्वाधिक ०.६१ प्रतिशतले गिरावट हुँदा निर्जीवन बीमा उपसूचक ०.४८ प्रतिशत, व्यापार उपसूचक ०.३६ प्रतिशत र होटल तथा पर्यटन उपसूचक ०.१८ प्रतिशतले गिरावट भएको हो । बुधबार बजारमा कुल २४७ सूचीकृत कम्पनीको सेयर कारोबार भएकोमा ११९ कम्पनीको सेयरमूल्य बढेको छ । त्यस्तै ११५ कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा १३ कम्पनीको सेयरमूल्य स्थिर छ ।
बुधबार कारोबार भएका कम्पनीमा समृद्धि फाइनान्स र मिड सोलु हाइड्रोपावर कम्पनीको सेयरमूल्य १० प्रतिशत तथा साधना लघुवित्त र ग्रिनलाइफ हाइड्रोपावर कम्पनीको सेयरमूल्य ९.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट मूल्यमा बन्द भएको छ । त्यस्तै गणपति लघुवित्तको सेयरमूल्य ८.६४ प्रतिशतले बढेको छ ।
सयपत्री हाइड्रोपावरको सेयरमूल्य ४.४८ प्रतिशतले वृद्धि गिरावट हुँदा इस्टन हाइड्रोपावरको सेयरमूल्य ४.४६ प्रतिशत, तेह्रथुम पावर कम्पनीको सेयरमूल्य ४.३८ प्रतिशत, पोखर फाइनान्सको सेयरमूल्य ४.१९ प्रतिशत र ग्लोबल आईएमई लघुवित्तको सेयरमूल्य ३.९६ प्रतिशतले गिरावट भएको छ ।


















