विकासमा सेनाको महत्वाकांक्षा बढ्दा संकट उत्पन्न

30

काठमाडौं । प्रतिनिधि सभा सदस्य एवं एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले विकासमा नेपाली सेनाको संलग्नतालाई लिएर प्रश्न उठाएका छन् ।

गुरुङले बुधबार प्रतिनिधि सभाको बैठकमा रक्षा मन्त्रालयको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा बोल्दै सेनाको विकासका कामबारे प्रश्न गरेका हुन् ।

‘राजनीतिक पार्टीहरू, हामीहरू यस्तो संवेदनशील जुन संरचना छ, जुन अंग छ नेपाली सेना, यसलाई हामी व्यापार गर्न दिन्छौं, ठेक्कापट्टा गर्न दन्छौं । सुरक्षाको हिसाबले संवेदनशीलताको यो कुरा कति जायज हो ?’ गुरुङले भने ।

यो विषयमा नेताहरूले बोल्नुपर्ने उनको राय छ । ‘आज नेताहरूले विकासमा नेपाली सेनाको संलग्नतामा मुख खोल्न सक्दैनन् । तर हामीले सोच्नुपर्छ,’ उनले भने ।

विकासमा संलग्न हुँदै अगाडि बढेको सेनाको महत्वाकांक्षा बढ्दा विभिन्न देशमा संकट उत्पन्न भएको ख्याल गर्नुपर्ने गुरुङले जनाए ।

उनले भने, ‘धेरै महत्वाकांक्षा बढ्यो भने त्यसले हाम्रो लोकतन्त्रमाथि, गणतन्त्रमाथि के हुन्छ ? विभिन्न देशमा महत्वाकांक्षा बढ्दा संकट पैदा भएको देखेका छैनौं ? हामीले देखेका छौं । अहिले उसको काम राम्रो होला, राम्रो छ । तर यस कुरामा ख्याल गर्नुपर्छ ।’ गुरुङले राष्ट्रिय सुरक्षा भनेको नेपाली सेना मात्रै हो भन्ने बुझाइमा समेत प्रश्न उठाएका छन् ।

‘राष्ट्रिय सुरक्षा भनेको नेपाली सेना मात्रै हो भन्ने बुझाइ त्यहाँ (नेपाली सेना)का ठूला हाकिमहरूको पनि छ । हाम्रो नेताहरूको पनि छ । पार्टीहरूको पनि छ । तर म भन्न चाहन्छु– राष्ट्रिय सुरक्षा भनेको खाली नेपाली सेना मात्रै होइन ।’

राष्ट्रिय सुरक्षाको महत्त्वपूर्ण अङ्ग, सबैभन्दा ठूलो अङ्ग, विश्वासनीय अङ्ग नेपाली सेना भएको उल्लेख गर्दै उनले थपे, ‘त्यस अतिरिक्त नेपाल प्रहरी छ, एपीएफ छ, एनआईडी छ । यो सबै संस्थाको समुचित रूपमा मात्रै नेसनल सेक्युरिटी हुन्छ ।’

राष्ट्रिय सुरक्षालाई व्यवस्थापन गर्ने, सुदृढ गर्नका लागि काुननमा यथोचित व्यवस्था गर्नुपर्नेमा त्यस्तो नदेखिएको गुरुङले जनाए । कानुनलाई लोकतान्त्रीकरण गर्नुपर्नेमा पनि यस्तो नदेखिएको गुरुङको धारणा छ ।

बजेट आउँदा पनि परम्परागत आउने गरेको उनले जनाए । गुरुङले भने, ‘…केवल परम्परागत रूपमा छ । मन्त्रालयका सहसचिवले बनाएको बजेट आउँछ । मन्त्रीहरूले नीतिगत रूपमा हस्तक्षेप गर्न सक्नुपर्छ । यसबाट माथि उठ्नुपर्छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here