कर्णालीका पाँच जिल्लामा ९ लाख ४८ हजारको छात्रवृत्ति वितरण

77

काठमाडाैं । मानव अधिकार तथा शान्ति समाजको आयोजनामा २०८१ जेठ २५ देखि २९ सम्म कर्णाली प्रदेशका पाँच जिल्लामा कर्णालीको उत्थानमा योगदान गर्न आग्रह विषयक नागरिक संवाद कार्यक्रम सम्पन्न भएको छ ।

कालिकोट र मुगुमा सम्पन्न नागरिक संवाद कार्यक्रमको सभापतित्व समाजका केन्द्रीय सभापति रामकृष्ण बरालले गर्नुभएको थियो भने सुर्खेत, दैलेख र जुम्लामा सम्पन्न कार्यक्रमको सभापतित्व शान्ति समाज शाखा सभापतिहरु प्रेमबहादुर भण्डारी, इन्द्रबहादुर खत्री र श्रीकृष्ण कामीले  गर्नुभएको थियो । कार्यक्रममा शान्ति समाजका कर्णाली प्रदेश सचिव प्रकाश शाहीले अवधारणापत्र र सचिव रामप्रसाद जोशीले विकासको अधिकार अहरणीय अधिकार शिर्षकमा प्रस्तुति रहेको थियो । कार्यक्रममा राजनीतिक समाज, नागरिक समाज, सुरक्षा निकाय गरि समाजका विभिन्न क्षेत्रको सहभागिता रहेको थियो ।

यसैगरी शान्ति समाजले छोरी पढाऔँ ः गरिमा बढाऔँ भन्ने आह्वानसहित शुरु गरेको कर्णाली प्रदेश केन्द्रीत ३ वर्षे बालिका छात्रवृत्ति अभियान अन्तर्गत कर्णाली प्रदेशका ६ जिल्लाका ९ विद्यालयका ७९ जना विपन्न दलित समुदायका बालिकालाई दोस्रो वर्षको छात्रवृत्ति  रकम रु. ९ लाख ४८ हजार वितरण गरिएको छ ।

जेठ २४ देखि जेठ ३० सम्म कालिकोटको शुभकालिकास्थित पञ्चकालिका मा.वि.का १३ जना, खाडचक्र मान्मस्थित जनजीवन मा.वि.का १६ जना, जुम्लाको हिमास्थित अन्नपूर्ण मा.वि.का १० जना,  कनका सुन्दरी मा. वि. गोठिज्युला सिंजा जुम्लाका ११ जना, मुगुको महाकाली नमुना मा.वि.का ७ जना, नेपाल राष्ट्रिय मिन मा.वि. भारेकोटका ३ जना, दैलेखको महादेव मा.वि. तल्लो डुंगेश्वरका ७ जना, हुम्लाको सर्केगाडस्थित अंशुवर्मा आधारभुत विद्यालयका ३ जना र हुम्लाकै श्री हिमज्योति मा.वि सर्केगाडका ३ जना र सुर्खेतमा आश्रय लिइरहेका बादी समुदायका ६ जना गरि ७९ जना बालिकालाई जनही रु. १२ हजारका दरले छात्रवृत्ति वितरण गरिएको हो । हुम्लाका दुई विद्यालयका ६ जनालाई सम्बन्धीत विद्यालयका प्रधानाध्यापक मार्फत छात्रवृत्ति वितरण गरिएको थियो भने थप ७३ जनालाई शान्ति समाजका पदाधिकारीहरुले वितरण गर्नुभएको थियो । अभियानको संयोजन शान्ति समाज कर्णाली प्रदेश सचिव प्रकाश शाहीले गर्नुभएको थियो । गत वर्ष ८४ जनालाई पहिलो वर्षको छात्रवृत्ति प्रदान गरिएकोमा यस वर्ष पाँच जनाले विद्यालय छोडेको देखिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here