यसवर्ष डेंगु संक्रमण बढ्ने आंकलन

26

काठमाडौं । अघिल्ला वर्षहरुको तुलनामा यसवर्ष डेंगु संक्रमण बढ्ने आंकलन विज्ञहरुले गरेका छन्। डेंगु संक्रमणको विश्वभरको प्रवृति हेर्दा  संक्रमण व्यापक भएका स्थानहरुमा  एक-दुई  वर्षसम्म तीव्र संक्रमण हुने सम्भावना कम हुन्छ।

पुन: संक्रमण हुँदा भने त्यस्ता स्थानमा संक्रमणदर उच्च हुने मान्यता अनुसार यसवर्ष काठमाडौंमा डेंगु संक्रमण उच्च हुने विज्ञहरुको धारणा छ।

सरकारले यस वर्ष डेंगु संक्रमण बढ्ने आंकलनसहित तयारी गरेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा यदुचन्द्र घिमिरे बताउँछन्। सकेसम्म संक्रमण घटाउनका लागि महाशाखाले विभिन्न तहका सरकारसँग छलफल गर्दै सहकार्य गर्ने तयारी गरेको छ।

सन् २००४ मा नेपालमा पहिलो देखिएको डेंगु संक्रमणले सन् २०१० मा महामारीको रूप लिएको थियो। नेपालमा पानी परेसँगै पानी जम्ने र जमेको पानीमा लामखुट्टेका लार्भा बढ्न थालेपछि संक्रमण बढ्ने गरेको छ। पानी जम्ने ठाउँमा ‘एडिस एजेप्टाई र एडिस एल्बोपेक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्छ, ती फुल लार्भा बन्छन् र त्यही लार्भा वयस्क भएपछि मानिसलाई टोक्छ र डेंगु फैलिन्छ।

गत वर्षको तुलनामा यो वर्ष काठमाडौं उपत्यका र देशभर डेंगु संक्रमण बढ्ने देखिएको छ। यो वर्ष देशभर गर्मी निकै बढेकाले लामखुट्टे व्यापक रूपमा सक्रिय हुन थालेका छन्।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको पछिल्लो तथ्यांकअनुसार काठमाडौंमा १ सय १४ जनामा डेंगु संक्रमण भएको छ। उक्त तथ्यांक अनुसार ललितपुरमा २४ तथा  भक्तपुरमा २७ जनामा डेंगु संक्रमण फेला परेको छ।

देशभरका ७१ वटा जिल्लामा १ हजार १३० जना संक्रमित रहेकोमा काठमाडौंमा सबैभन्दा धेरै संक्रमित रहेका छन् ।  काठमाडौं जिल्लाको संक्रमणदर १० प्रतिशतभन्दा बढी रहेको छ भने काठमाडौंपछि सबैभन्दा धेरै संक्रमणदर झापामा छ। झापामा हालसम्म १ सय ११ जना संक्रमित भेटिएका छन् भने संक्रमणदर पनि ९.९ प्रतिशत रहेको छ। यसै तथ्यांकलाई आधार मान्दा समेत यस वर्ष   डेंगुको जोखिम बढेको आंकलन गरिन्छ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दैनिक तीन देखि चारजना डेंगु संक्रमित आउने गरेको तथ्यांक छ।  अस्पतालका सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुन पछिल्लो केही सातायता काठमाडौंमा डेंगु संक्रमणका बिरामी वृद्धि भएको जनाउँछन्।

उनका अनुसार नेपालमा पछिल्लो समय वर्षभरी नै डेंगुको प्रकोप देखिएको छ। गर्मी र बर्खामा मात्रै डेंगुको प्रकोप देखिने गरेकोमा पछिल्लो समय वर्षभर नै देखिन थालेको हो। यसो हुनुमा जलवायु परिवर्तन अनुसार लामखट्टेले पनि आफ्नो शरीरलाई वातावरण अनुकूल बनाएको उनको तर्क छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here