हेटौँडा । मकवानपुरको इन्द्रसरोवरमा रहेको कुलेखानी जलासयको सतह घटेपछि ६० मेगावाट उत्पादन क्षमताको आयोजनाले २० मेगावाट मात्र विद्युत् उत्पादन गरिरहेको छ। कुलेखानी प्रथम जलविद्युत् केन्द्रका अनुसार पानीको सतह घटेकाले दुई दिनदेखि उत्पादन घटेको हो।
कुलेखानी प्रथम जलविद्युत् केन्द्रका प्रमुख तारादत्त भट्टका अनुसार एक हजार पाँच सय ३० मिटर गहिराईको पानीमा संचालन हुने कुलेखानी जलासयको सतह घटेर एक हजार चार सय ८५ मिटर पुगेपछि अत्यावश्यक समयमा मात्र आयोजनाले उत्पादन गरिरहेको छ।
पछिल्लो समय पानी नपरेकाले जलविद्युत्को महत्वपूर्ण ‘ब्याकअप’ आयोजना मानिने कुलेखानीमा पानीको सतह घटेको प्रमुख भट्टले जानकारी दिए। विशेष गरी नदीको पानी कम हुँदा विद्युत् आपूर्ति सन्तुलन गर्न र विद्युत् अधिक माग भएको समयमा तथा भोल्टेज तलमाथी हुँदा विद्युत् वितरण प्रणाली व्यवस्थित गर्न कुलेखानी जलविद्युत् आयोजना प्रयोग गरिन्छ।
प्रमुख भट्टका अनुसार सोमबारसम्म एक हजार चार सय ८४ दशमलव ९८ मिटरसम्म मापन गरिएको थियो। गए राती पानी परेपछि आज बिहान थप पानी जम्मा भएको छ। उनका अनुसार विसं २०५८ पछि यसवर्ष पानीको सतह धेरै घटेको हो। कुलेखानीबाट आपतकालीन् समयमा मात्रै बिजुली उत्पादन गरिने उनको भनाइ छ।


















