काठमाडौं । नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले नयाँ सरकार गठनका लागि केही समय लाग्ने जनाएका छन्।
आइतबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले कांग्रेससँगको समझदारीअनुसार पहिलो चरणमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गर्ने भए पनि मन्त्रालय भागबण्डाको विषय भने टुंगोमा पुगिनसकेको जनाए। उनले कांग्रेससँग प्रारम्भिक छलफल भए पनि राष्ट्रिय सहमतिको सरकार गठनका लागि आह्वान गरिएकाले कंग्रेससहितका अन्य राजनीतिक दलहरुसँग फेरि छलफल गरेर मात्रै मन्त्रालयको भागबण्डामा टुंगो लगाउने जनाए।
प्रमुख सचेतक बर्तौलाले प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी असार २८ गते विश्वासको मत लिने भएकाले सोही दिन बेलुकासम्म मन्त्रालयको भागबण्डा टुंगो लगाउने गरी कांग्रेससहितका दलहरुसँग छलफल हुने जनाए। उनले भने, ‘प्रधानमन्त्रीजीले तत्कालै आजभोलि नै राजीनामा दिएर एउटा सहज मार्गप्रशस्त गर्नु भयो भने हामी तयारी अवस्थामा नै रहन्छौँ। अन्यथा २८ गतेसम्म नै जानुपर्ने भयो भने २८ गते बेलुकासम्म कसरी जाने भन्ने मन्त्रालयको भागबण्डाको बारेमा हामी टुंगो लगाउँछौँ।’


















