नेपालले आज काभा यू-२० महिला भलिबल च्याम्पियनसिपमा श्रीलंकासँग खेल्दै

43

माले । आज नेपालले काभा यू-२० महिला भलिबल च्याम्पियनसिपमा श्रीलंकासँग खेल्ने भएकाे छ । साे खेल नेपाली समय अनुसार रातकाे ठिक १० बजे मालेस्थित सोसियल सेन्टर कभर्डहलमा हुँदैछ  ।

नेपाली महिला उमेर समूहको टिमले प्रथम पटक काभाको उमेर समूहको प्रतियोगिता खेल्न लागेको हो । जेनिशा विकको कप्तानीमा रहेको नेपाली टोलीले बुधबार सामान्य प्रशिक्षण गरेको थियो ।

कप्तान जेनिशाले पहिलो खेल खेल्न उत्साहित रहेको बताइन् । ‘हामी प्रतियोगिताको लागि तयार छौं । श्रीलंकासँगको पहिलो खेलमा राम्रो नतिजासिपत प्रतियोगिता सुरु गर्न चाहन्छौं’, उनले भनिन् । यस्तै मुख्य प्रशिक्षक कुमार राई पहिलो खेल महत्वपूर्ण हुने भएकोले त्यसमा केन्द्रित हुने बताए । ‘पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न हामी खेलाडीसहित सबै जना उत्साहित छौं। पहिलो खेल जितसहित प्रतियोगितामा सुरु गर्न चाहन्छौं’, उनले भने ।

नेपाली टोलीमा रहेका १२ खेलाडीसँग नै घरेलु भलिबलमा सिनियर स्तरको प्रतियोगिता खेलेको अनुभव छ । जसले गर्दा जुनियर अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दा त्यो अनुभवलाई सदुपयोग गर्ने योजनामा छन् । दोस्रो खेल नेपालले शुक्रबार कीर्गिस्तान तथा तेस्रो खेल शनिबार माल्दिभ्ससँग खेल्नेछ । सिंगल राउण्ड रोबिनको खेलपछि सेमिफाइनल हुनेछ । जहाँ लिगमा पहिलो हुनेले चौथोसँग र दोस्रो हुनेले तेस्रोसँग खेल्नेछ । सेमिफाइनल विजेताबीच फाइनल खेल हुनेछ ।

नेपाली टोलीमा  सलिना बुढा मगर, जेनिशा विश्वकर्मा, एलिसा मानन्धर, निशा महर, भावना तामाङ, एन्जिला प्रधान, निशा चौधरी, आरती चौधरी, मिना सुनार, अनुषा चौधरी, स्नेहा ठगुन्ना, आशिका क्षेत्री ।

मुख्य प्रशिक्षकमा  कुमार राई, प्रशिक्षकमा अर्जुन घिमिरे, व्यवस्थापकमा  जुनु पुन रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here