राजनीतिक संरक्षणमै सुन तस्करीको जालो

206

केही अघिसम्म रक्तचन्दन तस्करीका कारण अन्तर्राष्ट्रिय जगत्मा बद्नाम बन्दै आएको नेपाल हाल सुन तस्करीका कारण बद्नाम हुन थालेको छ । शृंखलाबद्ध रुपमा तस्करीको सुन बरामद हुन थालेपछि ‘सुन तस्करी’ नेपालको लागि टाउको दुखाइको विषय बन्न थालेको हो । एक दशकअघिसम्म भारतबाट चीनमा हुने रक्तचन्दन तस्करीको पारवहन भूमिकाले नेपालको बद्नामी चुलिएको थियो । सो समयमा बहुमूल्य रक्तचन्दन भारतबाट नेपाल हुँदै चीनतर्फ तस्करी हुने गरेको थियो । धनाढ्य चिनियाँले फर्निचरलगायत वस्तु बनाउन रक्तचन्दनको काठ प्रयोग गर्ने भएकाले त्यो बेला तस्करी खुबै मौलाएको थियो । त्यसमा नेपालको भन्सारलगायत विभिन्न स्थानमा नेपालका उच्च पदाधिकारीले सहयोगी भूमिका निर्वाह गर्दा तस्करी संगठित रुपमा नै मौलाएको हो ।
तस्करीसँगै नेपालमा अपराध र आतंकवाद पनि भित्रिन थालेको थियो । अन्तर्राष्ट्रिय जगत्मै नेपालको आलोचना हुन थालेपछि नेपाल सरकारले रक्तचन्दन तस्करीमा हस्तक्षेप गर्न थाल्यो । जसले गर्दा यो समस्या केही मत्थर भयो । रक्तचन्दन तस्करीमा पल्किएका चिनियाँ र भारतीय तस्करहरु डलर, सुन, जडीबुटी र वन्यजन्तुको अंगप्रत्यंग तस्करीमा लागे । पछिल्लो समय भने सो समूह सुन तस्करीमा केन्द्रित भएको देखिन्छ । चीन तथा अन्य देशबाट नेपाल हुँदै अहिले भारतर्फ सुन तस्करी हुँदै आएको पूर्वडीआईजी हेमन्त मल्ल बताउँछन् ।

पछिल्ला सुन तस्करीका घटना
नेपालमा वर्षेनि सयौं केजी सुन तस्करी हुने गरेको छ । तीमध्ये कमै मात्र प्रहरीले बरामद गर्ने गरेको छ । प्रहरीले अवैध सुन तस्करीमा कडाइ गरे पनि तस्करीमा कमी भने आउन सकेको छैन ।
ससाना परिमाणमा तस्करीका सुन बरामद गरिए पनि ठूलो परिमाणमा भने कमै मात्र सुन बरामद हुने गरेको छ । हालका प्रहरी महानिरीक्षक प्रकाश अर्याल केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को प्रमुख रहँदा २०७० असारमा तस्करीको ३५ किलो सुन बरामद भएको थियो । तर उक्त प्रकरणमा प्रहरीले सुन मालिकहरुलाई कारबाहीको दायरामा ल्याउन सकेन । त्यस्तै, डीआईजी नवराज सिलवाल सीआईबीको प्रमुख हुँदा पनि साढे ३३ किलो तस्करीको सुन पक्राउ गरेका थिए । उनी नेतृत्वको प्रहरी टोलीले गत वर्ष विमानस्थल नजिकैबाट सो परिमाणमा सुन बरामद गरेको थियो । उक्त प्रकरणमा केही व्यक्तिलाई पक्राउ गरे पनि उनीहरु सजिलै उम्किन सफल भएका छन् ।
हालै मात्र महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंको क्षेत्रपाटीबाट तस्करीको ८८ किलो सुन बरामद गरेको छ, जुन पक्राउ गरिएको आजसम्मकै ठूलो परिमाण पनि हो । भदौ १९ गते महाशाखाको टोलीले सुन बरामद गरेको हो, जसको मालिक चिनियाँ नागरिक रहेको महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनीले जनाएका छन् ।

छानबिन गर्न समिति गठन
महाशाखाको टोलीले बरामद गरेको ८८ किलो सुन तस्करी प्रकरण छानबिनका लागि समिति गठन गरिएको छ । अर्थ मन्त्रालयले सुन तस्करीबारे अनुसन्धानका लागि भन्सार विभागका उपमहानिर्देशक कुलराज ज्ञवालीको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो । रसुवागढी नाकाबाटी भित्रिएको उक्त अवैध सुन विभिन्न चेकपोष्ट पार गर्दै काठमाडौं ल्याइएको थियो । नाकादेखि काठमाडौं ल्याइपु¥याउँदासम्म सुन किन बरामद भएन भनेर अध्ययन गर्न छानबिन समिति गठन गरिएको हो । समितिको प्रतिवेदनअनुसार कारबाही अघि बढ्ने अर्थ मन्त्रालयले जनाएको छ ।

सजिलै उम्किन्छन् ठूला माछा
गत वर्ष सीआईबीले साढे ३३ किलो सुन बरामद गरेपछि सो प्रकरणमा तत्कालीन अर्थमन्त्री कृष्णबहादुर महराले पोखरामा आयोजित एक कार्यक्रममा सुन तस्करीमा ठूला माछा रहेको र आफू सानो माछा रहेको बोलेको प्रकरणले ठूलै चर्चा पाएको थियो । यसले पनि नेपालमा सुन तस्करीमा राजनीतिक दलका नेता, उच्च पदाधिकारी, प्रहरी अधिकृत, व्यापारीहरु नै संलग्न रहेको पुष्टि हुन्छ ।
साथै हालै मात्र रसुवागढीबाट भित्रिएको ८८ किलो सुन तस्करीमा पनि १२ वटा चेकपोस्टहरु सजिलै पार गरेर सुन भित्रिएको छ । यदि सुन तस्करीमा नेपाली उच्च पदाधिकारीहरुको संलग्नता नभएको भए कसरी सजिलै सुन पार गराउन सक्छन् ? यसले पनि सुन तस्करीमा ठूलै माछाहरु रहेको बुझ्न गाह्रो हुँदैन ।
तर, हालसम्म ठूला माछाहरु भने कारबाहीको दायरामा आउन सकेका छैनन् । हालसम्म जति पनि तस्करीको सुन बरामद गरिएको छ, तीसँगै पक्राउ परेका व्यक्तिहरु केवल भरिया मात्र रहेको पुष्टि भएको छ । भरियाभन्दा माथि गएर अहिलेसम्म प्रहरीले सुनका मालिकहरुलाई पक्राउ गर्न सकेका छैनन् (चाहेका छैनन्) । सुन तस्करीका मुख्य नाइकेहरु पक्राउ नपर्नुमा लहरो तान्दा पहरो गर्जिने डर प्रमुख कारण हो ।
हालै मात्र पक्राउ परेको तस्करीको ८८ किलो सुनको मालिका चिनियाँ नागरिक रहेको प्रहरीले जनाएको छ । पाइ वाइ मिङ नामका ती व्यक्ति आफ्नी श्रीमतीसँगै काठमाडौंको ठमेलमा रेष्टुरेण्ट चलाउँदै आएको पत्ता लागेको छ । तर, ती व्यक्ति सुन बरामदको खबरसँगै फरार भइसकेका छन् । सो सुन बरामद हुनुमा पनि चिनियाँ र नेपाली पक्षबीच कुरा नमिल्नु प्रमुख कारण रहेको जनाइएको छ । नेपाली पक्षले कमिसनमा चित्त नबुझाएपछि सुन भित्रिएको सूचना विभिन्न प्रहरी कार्यालयमा पुगेको थियो ।
तर, यसपटक पनि सुन तस्करीका ठूला माछाहरु पक्राउ नपर्ने लगभग निश्चित नै छ । किनकि उनीहरुको शक्ति यतिसम्म छ कि जसलाई कानुको दायरामा प्रहरीले ल्याउन गाह्रो छ । विगतका इतिहासले पनि यो कुरालाई पुष्टि गर्छ ।

‘सीमामा कडाइ आवश्यक’
पूर्वप्रहरी अधिकारीहरुको सुझावलाई मान्ने हो भने सुन तस्करी रोक्न सीमामा नै कडाइ गर्न आवश्यक छ । सुन तस्करी बढ्नुमा नेपालको खुला सिमाना र कमजोर प्रशासन संयन्त्र नै प्रमुख कारण रहेको पूर्वडीआईजी मल्लको भनाइ छ । उनका अनुसार सुन तस्करमिा चिनियाँ तस्करहरुको ठूलो भूमिका रहेको छ । उनीहरु नेपालमा जरो गाडेर नै बसिसकेका छन् ।
कन्स्ट्रक्सनको काममा छिरेका चिनियाँहरुले अहिले ठमेल तथा बानेश्वरलगायत क्षेत्रमा रेष्टुरेण्ट तथा होटलको व्यवसाय सुरु गरेको उनको भनाइ छ । ‘तिनीहरु नै रक्तचन्दन, सुन, डलर तस्करीमा समेत संलग्न रहेको पाइन्छ,’ उनले भने । त्यसैले सीमामा कडाइ गर्नु एक मात्र विकल्प रहेको उनको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here