नेपालमा बिदेशी चलचित्रको आयातलाई कोटा छुट्याउनु पर्ने

38

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका साँसद ज्ञानेन्द्रबहादुर शाहीले नेपालमा बिदेशी चलचित्रको आयातलाई कोटा छुट्याउनु पर्ने जनाएका छन् । प्रतिनिधि सभाको अर्थ समितिमा समेत रहेका साँसद शाहीले अब बन्न लागेको चलचित्र सम्बन्धि नयाँ ऐनमा बिदेशी चलचित्रलाई नेपालमा कोटा प्रणालीमा मात्र भित्राउने कुरा अनिवार्य उल्लेख गर्नुपर्ने माग आफुहरुको रहेको जनाएका छन् ।

सोमबार काठमाडौंमा चलचित्र ‘यो मन त मेरो नेपाली हो’को एउटा गीतको भिडियो सार्वजनिक कार्यक्रममा उनले यस्तो माग गरेका हुन् । अरु मुलुकमा त्यो देशको चलचित्रलाई प्रोत्साहन गर्न बिदेशी चलचित्रलाई निश्चित कोटा छुट्टयाईने गरेको साँसद शाहीले बताएका छन्,‘बिदेशी चलचित्रको अतिक्रमणले पाकिस्तानको चलचित्र उधोग धरासायी भएपछि त्यहाँ अहिले बिदेशी चलचित्र आयातको लागि निश्चिन कोटा छुट्टयाईएको छ । निकै कम तर राम्रा बिदेशी चलचित्रलाई स्थान दिएपछि बल्ल पाकिस्तानी चलचित्रले त्यहाँ बजार लिएको छ ।’

उनले चीन, फ्रान्स, लगायत अन्य धेरै देशमा पनि बिदेशी चलचित्रलाई निश्चित कोटा छुट्याईएको बताए ,‘चीनमा पनि आफ्नो देशको चलचित्रलाई प्रदर्शनीमा विशेष महत्व दिईन्छ भने बिदेशी चलचित्रलाई निकै कम कोटा दिईएको छ । सोही कारण पनि चिनमा चिनियाँ चलचित्रले बजार पाएका कारण त्यहाँ ठुला बजेटका अन्तराष्ट्रिय स्तरको चलचित्र बनेका हुन् ।’

२०८० सालको बक्स अफिस रिपोर्ट अनुसार नेपालबाट करिब ७९ करोड नेपाली रुपैयाँ बिदेशी चलचित्रका लागि बिदेशमा जाने गरेको साँसद शाहीले बताए । चलचित्र विकाश बोर्डको गत वर्षको बक्स अफिस रिपोर्टमा सो कुरा उल्लेख भएको बताउँदै साँसद शाहीले भने,‘विभिन्न चलचित्रकर्मीहरुको अनुरोधमा मैले चलचित्र विकाश बोर्डका अध्यक्ष भुवन केसीलाई समेत बिदेशी चलचित्र नेपालमा कोटा प्रणाली छुट्टयाएर ल्याउनु पर्छ भनेर सुझाब दिएँ । तर बोर्डबाट त्यो कुरामा चासो नदिएपछि अब यो कुरालाई राष्ट्रिय चलचित्र ऐनमै उल्लेख गर्नुपर्छ भन्ने मेरो मान्यता रहेको छ ।’

अहिले खुला रुपमा नेपाल भित्रिएका बिदेशी चलचित्रलाई आधाको साँख्यामा मात्र घटाउन सकियो भने पनि त्यो पैसा नेपालमै रहने शाहीको कथन छ,‘बिदेशी चलचित्र काम हुनासाथ नेपाली चलचित्रले बजार लिन्छ र नेपाली चलचित्र बढी चल्न थालेपछि अहिलेको भन्दा गुणस्तीयर महँगा बजेटका हाम्रा चलचित्र निर्माण हुन्छन् । जसका कारण एकातर्फ नेपालमै अहिलेको भन्दा धेरैले चलचित्र निर्माणमा रोजगारी पाउँछन भने चलचित्र उधोगका अबस्था पनि माथि उठ्ने छ ।’ शाहीले थपे ।

बिदेशी चलचित्रसँग प्रतिस्पर्धा गर्न बिदेशी जस्तो नभएर मौलिक नेपाली चलचित्र नै बनाउन पर्ने पनि उनको जिकिर रहेको छ । जुम्लामा छायाँकन गरिएको र जुम्लाकै कथा एवम् परिवेशमा निर्माण भएको चलचित्र प्रकाशको उदाहरण दिँदै साँसद शाहीले भने,‘हाम्रो प्रकाश रिलिज हुने एउटा दक्षिण भारतीय चलचित्रलाई यहाँका हलवालाले धेरै भन्दा धेरै शो दिएर चलचित्र प्रकाशलाई सिध्याउन खोजेका थिए । तर अभिनेता प्रदीप खडका सहित हामीले प्रकाशलाई बिदेशीको जत्तिनै शो दिनुपर्छ भनेर सँघर्षमा उत्रियौं ।’ नभन्दै चलचित्र प्रकाशले उत्तिकै शो पाएपछि त्यो विदेशी चलचित्रलाई पूर्णरुपमा धरासायी बनाएको पनि उनले जनाए ।

राष्ट्रिय चलचित्र ऐन अहिले सम्बन्धित मन्त्रालय मार्फत सँसदमा आउन लागेकाले उनकारी पनि शाहीले गराए । सो ऐनमा आफुहरुले बिदेशी चलचित्र नेपालमा भित्राउन अनिवार्य कोटा प्रणाली लागु गर्न माग राख्ने उनले बताए,‘हुन त चलचित्रकर्मी साथीहरुले पनि बिदेशी चलिचत्रलाई नेपालमा खुला नभएर कोटा प्रणालीमा ल्याउनु पर्छ भनेर ऐनमा सुझाब दिनु भएको छ । त्यो सुझाबलाई हामी सँसदमा अझ ससक्त रुपमा उठाएर यो प्रणाली लागू गराउने पक्षमा छौं ।’ बिदेशी चलचित्र नेपाल बन्द नगरेर थोरै तर राम्रा चलचित्र आउनु पर्छ भन्ने पक्षमा आफुहरु रहेको पनि उनले स्मरण गराए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here