काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का जिल्ला अध्यक्षहरूको भेला यही साउन १७ र १८ गते काठमाडौंमा हुने भएको छ ।
भेलामा पार्टीको समग्र साङ्गठनिक अवस्थाको गम्भीर समीक्षा गरिने, विगतका निर्वाचनका कमी कमजोरीको समीक्षा गर्दै आगामी रणनीति तय गरिने, पार्टीले लिएका नीति र यसले पार्टी पङ्क्ति तथा जनसमुदायमा पारेको प्रभावको विश्लेषण गरिने, पार्टीको केन्द्रीय कार्यसमिति बैठकले आगामी वैशाख मसान्तसम्म स्थानीय तहको अधिवेशन गरिसक्ने लक्ष्य लिएको अवस्थामा सबै तहको अधिवेशन सम्पन्न गर्ने साथै २०८४ मा हुने तीन तहकै निर्वाचनको तयारीमा अहिलेदेखि कस्तो रणनीति तय हुने भन्ने विषयमा पनि छलफल हुने सचिवालय प्रमुख महामन्त्री राजेन्द्र गुरुङले जानकारी दिए ।
उक्त भेलामा पार्टी अध्यक्ष लिङ्देनले पार्टीको नीति, विचार, सिद्धान्तलगायत रणनीति र आगामी कार्ययोजनाबारे जिल्ला अध्यक्षहरूलाई निर्देशन गर्ने छन् भने पार्टीका पूर्वअध्यक्ष पशुपति शमसेर जबरा, निर्देशन समितिका अध्यक्ष डा प्रकाशचन्द्र लोहनी र नेताहरूले पार्टी सङ्गठनका विविध पक्षमा जिल्ला अध्यक्षसँग सामूहिक छलफल गर्ने कार्यक्रमसमेत रहेको सो पार्टीले जनाएको छ ।


















