काठमाडौं । नेपाली फुटबल खेलाडी रेखा पौडेलको निर्णायक गोलमा यूएईको अबुधाबी कन्ट्री एएफसी महिला च्याम्पियन्स लिगको अन्तिम चरणमा प्रवेश गरेको छ ।
प्रारम्भिक चरण अन्तर्गत समूह ए को अन्तिम खेलमा रेखाले दोस्रो हाफमा गरेको एक मात्र गोलमा अबुधाबीले साउदी अरेबियाको अल नासेरलाई १-० ले पराजित गर्दै समूह विजेता बनेको हो ।
रेखा अब एएफसी च्याम्पियन्स लगको अन्तिम चरण खेल्ने पनि पहिलो नेपाली खेलाडी बन्नेछिन् । समूह चरण पार गरेको अधुबाबी अन्तिम चरणमा समूह ए मा परेको छ । जहाँ चीनको बुहान जिएन्ग्डा, दक्षिण कोरियाको इन्चोन रेड एन्जल्स र मलेसियाको सबाह छ । मलेसियन क्लब सबाह पनि प्रारम्भिक चरण पार गरेर अन्तिम चरणमा छनोट भएको हो । सबाह नेपालको एपीएफ क्लब समेत सहभागी रहेको समूह सी को विजेता बन्दै अन्तिम चरणमा पुगेको हो ।
एपीएफसँग बराबरी खेलेको सबाहले उज्वेकिस्तानको नासाफलाई अन्तिम खेलमा पराजित गर्दै समूह विजेता बनेको हो ।पहिलोपटक ठूलो प्रतियोगिता खेलेको एपीएफ भने एक बराबरी र एक हारको नतिजा निकाल्दै समूह चरणबाटै बाहिरिएको थियो ।


















