मिथिलाक्षेत्रमा जितिया पर्वको तयारी सुरु

72
 महोत्तरी । पितृपक्ष सुरु भयो कि मधेसको मिथिलाक्षेत्रमा जितिया पर्वको तयारी सुरु हुन्छ। महोत्तरीसहितका मधेसको मिथिला क्षेत्रका सन्तानवती आमाहरू अहिले जितियाको तयारीमा छन्। पितृपक्ष (सोह्रश्राद्ध)को अष्टमी तिथिका दिन गरिने यो व्रत यसपालि आउने मङ्गलवार परेको छ।

असोज कृष्णपक्ष अर्थात् पितृपक्षको अष्टमी तिथिका दिन गरिने यो व्रत कमसेकम एक अहोरात्रको हुने चलन छ। अष्टमी तिथि टेकिएकै दिन गरिने यो व्रत भोलिपल्ट अष्टमी तिथि कटेर नवमी एक घडी कटाएरमात्र समापन गरिन्छ। यसअनुसार यसपालि आउने मङ्गलवार साँझ ६ः०० अष्टमी तिथि लाग्ने हुँदा सोही दिन सन्तानवती मिथिलानीले व्रत गर्ने निधो गरेका छन्। कमसेकम एक अहोरात्रको व्रत विधानले सोमबार मध्यरातअघि ओगटन (दर) खाएका मिथिलानीले बुधवार साँझ ५ः४५ बजे नवमी तिथि लागेपछि व्रत समापन गर्नेछन्।

यसपालिको व्रत अवधि झण्डै ४० घण्टाको हुने व्रतको तयारीमा रहेकी भङ्गाहा–४ रामनगरकी रसिया चौधरी थारू बताउँछिन्। सन्तानको सौर्यवृद्धि र सद्गुणको कामनाका साथ गरिने यो पर्वका बर्तालु आमाले आफ्ना सन्तान परोपकारी र आपत्मा परेकाहरूलाई सघाउनसक्ने होउन् भन्ने इष्टदेवसँग पुकारा गर्छन्। असोज कृष्ण अष्टमीका दिन निराहार उपवास गरिने जितिया पर्वका लागि पितृपक्ष सुरु हुनासाथै सन्तानवती आमाहरू आफ्ना सन्तान सुयोग्य हुने कल्पना गर्छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here