काठमाडौं । नजिकिदै गरेकाे नेपालीहरूकाे महान् पर्व दसैँका लागि १३ असोजदेखि सुकिला नोट साट्न पाइने भएको छ।
१३ असोजदेखि नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय, प्रदेशस्थित कार्यालयका साथै अन्य बैंकहरूबाट समेत नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ।
यसपटक दसैँमा नयाँ नोटको साटो सुकिला नोट्न साट्ने व्यवस्था गर्न लागिएको राष्ट्र बैंकका सहायक प्रवक्ता डिल्लिराम पोखेरलले जनाए । १३ असोजबाट राष्ट्र बैंकका साथै बैंकहरूमार्फत समेत सुकिला नोट साट्न सकिने व्यवस्था गर्न लागिएको हो।
सुकिला नोट साट्न चाहानेले १८ हजार ५०० रुपैयाँसम्म पाउनेछन्। ५, १०, २०, ५० र १०० दरको एक सेटका दरले १८ हजार ५०० रुपैयाँ साट्न पाउनेछन्। नेपाल राष्ट्र बैंकले हरेक वर्ष चाडपर्व लक्षित गर्दै नयाँ नोट सटही गर्दै आएको थियो। यसवर्ष भने एकपटक प्रयोगमा आइसकेका नोट साट्न पाइने भएको हो। एकपटक प्रयोगमा आएका भए पनि सफा र नयाँ नोट जस्तै हुने राष्ट्र बैंकका सहायक प्रवक्ता पोखेरलले जनाएएका छन्।
हरेक वर्ष नयाँ नोट बजारमा पठाउने र त्यसको प्रयोग नहुँदै पुनः नयाँ नोट बजारमा पठाउँदा साना दरको नयाँ नोट व्यवस्थापनमा समेत समस्या आएको भन्दै केन्द्रीय बैंकले यसपटक नयाँ नोट उपलब्ध नगराउने भएको हो।


















