नवलपरासी । पश्चिम नवलपरासी सुस्ता गाउँपालिकाले आउँदै गरेको चाडपर्वलाई लक्षित गरि बजार अनुगमन कार्यलाई तिव्रता दिएको छ।
सुस्ता गाउँपालिका अन्तर्गतका विभिन्न बजारहरुमा गैरकानुनी रुपमा अखाद्य वस्तु र म्याद नाघेका सामाग्री बिक्री वितरण हुँदै आएको प्रवृत्ति रोक्न बजार अनुगमन गरिएको सुस्ता गाउँपालिका उपाध्यक्ष एवं अनुगमन समितीकी संयोजक गितादेवी चौधरीले जानकारी दिनुभएको छ। उपाध्यक्ष चौधरीका अनुसार पालिका अन्तर्गतका कुडिया,सखुवाना,फेनहरा र बरुवा बजारमा अनुगमन गरि म्याद नाघेका वस्तु नष्ट पारिएको थियो।
सुस्ता गाउँपालिका वडा न.१,२,३ मा एक दर्जन पसलहरु छड्के अनुगमन गरिएको र सो क्रममा मदिरा,किराना, औषधि र मिठाई पसल अनुगमन गरि म्याद नाघेका अखाद्य वस्तु सम्बन्धित पसलको अगाडि नै नष्ट पारी पसलेहरुलाई आफ्नो पसलको नियमानुसार दर्ता गराइ कानुन सम्मत ढङ्गबाट आफ्नो पसल सञ्चालन गर्न सुझाव दिइएको सुस्ता गाउँपालिका का प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुषालले जानकारी दिनुभएको छ।
अनुगमनको क्रममा अधिकांश सामाग्री भारतमा उत्पादन भएको र गुणस्तर हिन भएको पनि अनुगमन समितीले जनाएको छ। अनुगमनको क्रममा कुनै पनि पसलहरुमा मूल्य सुची नभएको र केही पसलहरु अनुगमन टोली आएको जानकारी हुनासाथ सटर बन्द गरि भागेको दृश्यले अधिकांश पसल गैरकानुनी रुपमा सञ्चालन भएको पुष्टि भएको छ।
अनुगमन समितीले गैरकानुनी रुपमा सञ्चालन भएका पसलहरुलाई मुल्य सुची सहितको आवश्यक कागजात पसलमै राखिनुपर्ने जानकारी गराइएको थियो। अनुगमनको क्रममा जिल्ला प्रशासन कार्यालय नवलपरासी (ब.सु.प.) का प्रतिनिधि चिरञ्जीवी पौडेल,घरेलु तथा साना उद्योग कार्यालय परासीका प्रतिनिधि पुरुषोत्तम पौडेल,उपभोक्ता हित संरक्षण मंच पश्चिम नवलपरासीका उपाध्यक्ष भोजराज बराकोटी,सुस्ता २ का वडा अध्यक्ष कृष्णलाल मुखिया, गाउँपालिकाका कर्मचारी, प्रहरी र स्थानीय कर्मचारीहरुको पनि अनुगमन कार्यक्रममा सहभागिता रहेको थियो।
चाडपर्वको अवसरमा सुस्ता गाउँपालिकाको आयोजनामा भएको बजार अनुगमनले स्थानीय स्तरमा सकारात्मक सन्देश पुगेको सुस्ता १ बरुवाका स्थानीय व्यापारी श्रवण कुमार चौधरीले प्रतिक्रिया दिनुभएको छ। बजार अनुगमन कार्यलाई दसैंपछि पनि थप निरन्तरता दिने अनुगमन समितीले जानकारी दिएको छ।


















