दशौं राष्ट्रिय खेलकुद प्रतियोगयिता समयमानै नहुने

44

काठमाडौं । आगामी मंसिर २ देखि ९ सम्म कर्णाली प्रदेशको राजधानी सुर्खेतमा हुने तय भएको दशौं राष्ट्रिय खेलकुद प्रतियोगयिता समयमानै नहुने सम्भावना बढ्न थालेको छ।

प्रतियोगिता शुरु हुन ३८ दिन बाँकी रहँदा कर्णाली प्रदेशमा तय भएको दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता सर्ने सम्भावना बढेको हो।

गण्डकी प्रदेशको पोखरामा २०७९ कात्तिक ३ गते  सम्पन्न भएको नवौं राष्टिय खेलकुद प्रतियोगितामा कर्णालीलाई दसौं राष्ट्रिय खेलकुदको जिम्मेवारी दिएको थियो। प्रदेशका तत्कालीन सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाले आयोजकको झन्डा ग्रहण गरेका थिए। तर त्यसपछिका ४ वर्ष वित्न लाग्दा पनि राष्ट्रिय खेलकुदको अन्योलता कायम छ।

खेल सुरु हुन एक महिना र केही दिन बाँकी रहँदा खेलकुद मन्त्री तेजुलाल चौधरी आफैं दसौं राष्ट्रिय खेलकुद समयमा हुनेमा संसयमा देखिए। उनले दसौं राष्ट्रिय खेलकुदका लागि तयार हुँदै गएको सुर्खेतमा भौतिक पूर्वाधारको विकाश सन्तोषजनक नपाएको बताए।

चौधरीले आयोजनाको जिम्मेवारी लिएको कर्णाली प्रदेशको उपस्थितिनै कमजोर पाएको बताए। उनले कर्णाली प्रदेशले अहिले लगानी नगरेको र भौतिक पूर्वाधारका काममा प्रगति हुन नसकेको बताए।

उनले केन्द्रले संघीयताको मर्म अनुसार प्रदेशको अपनत्व लियोस् भन्ने चाहना रहेको तर प्रदेशले त्यस्तो स्वामित्व लिने गरी केही काम नगरेको बताए। उनले केन्द्रलेनै सबै जिम्मेवारी लिएर प्रतियोगिता गर्न सक्ने बताए।

उनले भने, ‘सबैको चाहना आगामी मंसिरमै प्रतियोगिता होस् भन्ने छ। बजेट पनि छुट्याइसकिएको छ। तर त्यहाँको भौतिक प्रगति र वासस्थानको पर्याप्त अवस्था छैन्।’ उनले प्रतियोगिता २०८१ भित्रै हुने बताउँदै तोकिएको समयमा राष्ट्रिय खेल नहुने आशय ब्यक्त गरे।

यद्यपि राष्ट्रिय खेलकुद परिषद र कर्णाली खेलकुद परिषदले भने पर्याप्त पूर्वाधार र बासस्थान रहेको भन्दै तोकिएकै समयमा खेलकुद आयोजना गर्न सकिने बताए।

यद्यपि केही खेललाई अन्य स्थानमा सारेर भए पनि तोकिएको समयमा राष्ट्रिय खेलकुदको आयोजना गर्नु पर्ने मत बलियो छ। तर खेलकुद मन्त्री, राखेप र कर्णालीबिचको समन्वय कमजोर बन्दै जाँदा प्रतियोगिता स्थगित हुने सम्भावना बढेको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here