‘पूर्णबहादुरको सारङ्गी’ले घरेलु चलचित्रको इतिहास रच्याे

44

काठमाडौं । ‘पूर्णबहादुरको सारङ्गी’ले सर्वाधिक कमाउने घरेलु चलचित्रको इतिहास रचेको छ । प्रदर्शनको १३ औं दिन मंगलबारसम्म चलचित्रले देशव्यापी २५ करोड ४ लाख रुपैयाँ ग्रस कमाएको छ ।

वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टले १२ कात्तिकसम्मको कलेक्सन सार्वजनिक गरेको छ । चलचित्रले मंगलबार मात्रै २ करोड ५ लाख रुपैयाँ ग्रस कमाएको छ । चलचित्रले बुधबार २ करोडभन्दा धेरै कमाउने प्रक्षेपण गरिएको छ ।

‘कबड्डी ४’ को कमाइलाई उछिन्दै विजय बराल स्टारर फिल्मले धेरै कमाउने घरेलु चलचित्रकाे रुपमा इतिहास रचेको हो । निर्माताले दिएको आधारमा कबड्डी ४ को कलेक्सन (२३ करोड ५० लाख) र चलचित्र विकास बोर्डले दिएको तथ्यांकको आधारमा (२१ करोड ३८ लाख) छ ।

टिकट बिक्रीको ट्रेन्ड हेर्दा ‘पूर्णबहादुरको सारङ्गी’को गति तत्काल रोकिने छाँटकाँट छैन । झण्डै ६ दशक लामो घरेलु चलचित्रको इतिहासमा चलचित्रको यो कमाइलाई अभूतपूर्व रुपमा लिइएको छ । चलचित्रले सर्वाधिक कलेक्सनको रुपमा मात्र इतिहास रचेन ।

सर्वाधिक शो पाउने चलचित्रको रेकर्ड समेत राख्यो । अहिले पनि मुलुकका ४५० भन्दा धेरै शो यो चलचित्रको कब्जामा छ । साथै, ‘पूर्णबहादुरको सारङ्गी’ एकैदिनमा सर्वाधिक कमाउने नेपाली चलचित्र समेत बन्यो ।

चलचित्रले कात्तिक २४ गते एकैदिन ३ करोड ८९ लाख रुपैयाँ ग्रस कमाएको थियो । ‘कबड्डी ४’ को २ करोड ९० लाखको ग्रसलाई बाँसुरी चलचित्रकै पछिल्लो सहकार्यको चलचित्रले उछिनेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here