काठमाडौं । श्रीलंकाका लागि प्रस्तावित नेपाली राजदूत पूर्णबहादुर नेपालीको संसदीय सुनुवाइ शुरु भएको छ।
बुधवार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिमा श्रीलंकाका लागि प्रस्तावित राजदूत पूर्णबहादुर नेपालीको संसदीय सुनुवाइ गरेको हो। सरकारले पूर्णबहादुर नेपालीलाई प्रजातान्त्रिक समाजवादी गणतन्त्र श्रीलङ्काका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्तिका लागि सिफारिस गरेको थियो।
समितिको बैठकमा बोल्दै समिति सभापति ईश्वरीदेवी न्यौपानेले प्रस्तावित राजदूत नेपालीको संसदीय प्रक्रिया शुरु भएको र विद्युतीय सञ्चारमाध्यममा प्रस्तावित राजदूतको नाम प्रकाशन गर्न समिति सचिवलाई निर्देशन दिइन्। उनले साथै प्रस्तावित राजदूतउपर उजुरी आह्वान गर्ने निर्णय भएको समेत बताइन्।
नेपालको संविधानबमोजिम संघीय संसद्, संसदीय सुनुवाइ समितिबाट सुनुवाइ सम्पन्न भएपछि राष्ट्रपतिले अनुमोदन गर्ने प्रचलन छ।

















