काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले विषयलाई तोडमोड गरेर एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो बदनाम गर्ने कोसिस गरेको जनाएका छन् ।
ओलीका स्वकीय सचिव राजेश शाक्यको फोनमा भएको संवादलाई ओलीले प्रचारको विषय बनाएर आफ्नो बदनाम गर्ने कोसिस गरेको गौतमको भनाइ छ ।
‘मदन भण्डारी हत्यासम्बन्धी कथित निष्कर्ष भएको लिंक मेरो फोन र नम्बरमा आयो। हेरेपछि म छाँगाबाट खसेजस्तो भएँ । त्यसपछि मैले आफ्नो पहिलो कर्तव्य तपाईँबाटै जानकारी लिने हो भन्ने ठानेँ। त्यसपछि मैले मेरोमा भएको तपाईँको फोनमा कल गरेँ, तर फोन लागेन। त्यसपछि मैले क. राजेशलाई उहाँकै फोनमा लिंक पठाइ दिएँ र तुरुन्तै कल गरेँ, उहाँले कल रिसिभ गर्नु भयो र सदा झैँ नमस्कार कमरेड भन्नु भयो।’
राजेशसँग यो भन्दा बढी आफूले एक शब्द पनि नबोलेको दाबी गर्दै गौतमले फोन नम्बर राजेश कै भएको र उनलाई धुलोमा खेल्ने अवस्थादेखि आफूले चिनेको जनाएका छन् ।
‘यसलाई केपीले प्रचारको विषय बनाएर मेरो बदनाम गर्ने तुच्छ कोसिस गर्नुहोला भन्ने मलाई लागेको थिएन। क. केपी म तपाईंलाई चुनौती दिन्छु, मेरो भ्वाइस रेकर्ड सार्वजनिक गरिदिनोस् ! पिएमको नाताले भ्वाइस रेकर्ड निकाल्न सकिहाल्नु हुन्छ’, गौतमले ओलीलाई सम्बोधन गरेर लेखेको जवाफमा उल्लेख छ ।
केही दिनअघि ओलीले आफूलाई फोन गरेर गौतमले प्रधानमन्त्री र अध्यक्षबाट राजीनामा दिन भनेको दाबी गरेका थिए । गौतमसँग आफूले नै राजेशको मोबाइलमार्फत कुरा गरेकाे भएपनि उनले नचिनेको ओलीले बताएका थिए । प्रधानमन्त्री ओलीको भनाइ थियो, ‘कुरा गर्दै गइयो तर अन्तिममा त तिम्रा ठुला बालाई भन्देऊ । प्रधानमन्त्री र अध्यक्षबाट पनि राजीनामा गर्नु भन्देऊ भनेर एकछिन पड्किनुभयो । हस् म भन्दिउँला भनेँ ।’


















