रूसी एयर-डिफेन्स सिस्टमले खसालेको दाबी

59
The wreckage of Azerbaijan Airlines Embraer 190 lays on the ground near the airport of Aktau, Kazakhstan, Wednesday, Dec. 25, 2024. (AP Photo/Azamat Sarsenbayev)

एजेन्सी । अजरबैजान एयरलाइन्सको जहाज रूसी एयर-डिफेन्स सिस्टमले खसालेको दाबी गरिएको छ। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले ३८ जनाको ज्यान जाने गरी भएको जहाज दुर्घटनामा रूसको संलग्नता रहेको समाचारमा उल्लेख गरेको हो। रोयटर्सले बिहीबार प्रारम्भिक छानबिनबारे जानकार चार अधिकारीसँग कुराकानी गर्दै यसको खुलासा गरेको हो।

अजरबैजानको राजधानी बाकुबाट रूसको ग्रोज्नीका लागि उडेको फ्लाइट जे २-८२४३ बुधबार कजाकिस्तानको अक्ताउमा खसेको थियो। ग्रोज्नीका लागि उडेको उक्त जहाज मौसमका कारण ‘डाइभर्ट’ गर्नुपरेको भनिएको थियो। यस्तै सुरूमा चरासँग ठोक्किएर दुर्घटनामा परेको हुन सक्ने पनि विभिन्न समाचार संस्थाहरूले जनाएका थिए। रोयटर्सले एक अजरबैजनी स्रोतलाई उदृत गर्दै उक्त जहाजमा रूसी पन्तसिर-एस एयर डिफेन्स सिस्टमले प्रहार गरेको उल्लेख गरेका छन्। ग्रोज्नी जाँदै गर्दा इलेक्ट्रोनिक वारफेयर सिस्टमले जहाजको सञ्चार प्रणालीलाई अवरूद्ध गरेको समाचारमा उल्लेख छ।

‘कसैले पनि जानाजान गरेको भनेर भन्दैन। यद्यपि बाकु रूसी पक्षबाट घटनाबारे स्वीकार गरोस् भन्ने चाहन्छ,’ स्रोतको भनाई रोयटर्सले उदृत गर्दै लेखेको छ। अन्य तीन जना स्रोतले पनि एउटै निष्कर्षमा रहेको समाचारमा उल्लेख गरेको हो।

रूसका प्रवक्ता डिमिट्री पेस्कोभले यसबारे अनुसन्धान सकिनुअघि नै अनुमान गर्न नहुने बतृका छन्। ‘अनुसन्धान सकिनुअघि नै अनुमान गर्नु गलत हुन्छ,’ पेस्कोभले भने। बुधबार भएको जहाज दुर्घटनामा २९ जना यात्रुको उद्धार भएको थियो। रूसले युक्रेनको ड्रोनलाई झुक्क्याउनका लागि एड्भान्स इलेक्‍ट्रोनिक जामिङ इक्युपमेन्टको प्रयोग गर्ने गरेको छ। यसले ड्रोनलाई ठाउँबारे झुक्याउन, सञ्चार प्रणालीमा अवरोध पुर्याउन प्रयोग गर्दै आएको छ। ड्रोन खसाल्नलाई पनि रूसले एयर डिफेन्स सिस्टमको प्रयोग गर्दै आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here