काठमाडाैं । संयुक्त अरब इमिरेट्स् (युएई) स्थित नेपाली राजदूतावासले रास अल-खैमा इमिरेट्समा राहदानी घुम्ती शिविर सञ्चालन गरेको छ।
दूतावास र गैरआवासीय नेपाली संघको पहलमा सञ्चालित राहदानी, कन्सुलर तथा श्रमिक सचेतना घुम्ती शिविर कार्यक्रममा उपस्थित करिब ५५० जना नेपाली श्रमिकलाई नेपाल तथा युएईका विद्यमान श्रम कानुनका विषयमा जानकारी पनि प्रदान गरिएको थियो।
त्यसैगरी नेपाल सरकारले हालका दिनमा श्रम-सुशासनका क्षेत्रमा अवलम्बन गरेका नीतिगत, कानुनी तथा प्रक्रियागत कदमहरू, सामाजिक सुरक्षा कोषमा श्रमिकको आबद्धता, सोको प्रक्रिया तथा औपचारिक माध्यमबाट विप्रेषण पठाउँदा प्राप्त हुने फाइदा, पुनः श्रम स्वीकृतिसम्बन्धी व्यवस्था एवं वित्तीय साक्षरता लगायतका विविध विषयमा जानकारी प्रदान गरिएको दूतावासले विज्ञप्तिमार्फत जनाएको छ।
दूतावासले जनाए अनुसार, राहदानीको म्याद समाप्त भइसकेका, भिसाको म्याद सकिएका र राहदानी हराई समस्यामा परेका व्यक्तिहरूको पनि राजदूतावासले प्राथमिकताका साथ राहदानी नवीकरण गर्ने गरिएको छ।


















