काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संघीयतालाई बलियो बनाउनका लागि प्रदेश र स्थानीय तहलाई अधिकारसम्पन्न बनाउने गरी कानुन बनाउनुपर्नेमा जाेड दिएका छन् ।
संघीयता सबलीकरणका सन्दर्भमा मंगलबार ललितपुरमा आयोजित कार्यक्रममा थापाले सबै तहलाई अधिकारसम्पन्न बनाएर संघीयता कार्यान्वयन गर्नुपर्ने र अधिकारसम्पन्न बनाउँदा पनि काम गर्न नसके समाधानको उपाय खोज्नुपर्ने जनाए।
अहिले ठूला दल मिलेर सरकार गठन भएकाले सदनबाट कानुन बनाउन सहज हुने भएकाले संघीयता कार्यान्वयनसम्बन्धी कानुन बनाउन ढिलाइ गर्न नहुने उनको भनाइ छ ।
महामन्त्री थापाले पुराना र नयाँ भनिएका दलसमेत संघीयताप्रति उदार भने हुन नसकेको जिकिर गरे । उनले संविधान संशोधनका लागि आवश्यक विषयमा खुला रूपमा बहस र छलफल हुने भएकाले यसप्रति कसैले शंका गर्न नपर्ने जनाए।
उनले सरकारमा गएकाहरूले पनि अधिकारलाई मुठ्ठीमा राख्ने गरेकाले संघीयता नै दुर्घटनामा पर्ने देखिएको जनाए।


















