काठमाडौं । गणतन्त्र कोरियाका कार्यवाहक राष्ट्रपति चोइ साङ मोकसमक्ष नेपालका राजदूत डा शिवमाया तुम्बाहाम्फेले आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गरेकी छन् । मङ्गलबार सियोलमा आयोजित एक समारोहमा उनले आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गरेकी हुन् ।
प्रमाणपत्र पेस गरेपछि राजदूत तुम्बाहाम्फेले कार्यवाहक राष्ट्रपति चोईसँग शिष्टाचार भेट गरेकी सिओलस्थित नेपाली राजदूतावासले आज जनाएको छ । त्यस अवसरमा उनले नेपाल र कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पुगेको सन्दर्भमा द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउन उच्चस्तरीय भ्रमण आदानप्रदानको महत्वपूर्ण हुने बताउँदै आगामी मेसम्ममा त्यस्ता भ्रमणका निम्ति सहजीकरण गर्न दूतावासलाई अवसर मिल्ने विश्वास व्यक्त गरिन् ।
कार्यवाहक राष्ट्रपतिले राजदूत तुम्बाहाम्फेलाई गणतन्त्र कोरियाका लागि नेपालको राजदूतका रूपमा स्वागत गर्दै नेपाल–कोरिया सम्बन्ध प्रवर्द्धनमा सक्दो सहयोग गर्ने बताए । साथै उनले राजदूत तुम्बाहाम्फेको सफल कार्यकालको कामना पनि गरे ।
त्यस अवसरमा नेपाली दूतावासका उपप्रमुख पुष्पराज भट्टराई तथा गणतन्त्र कोरियाका विदेशमन्त्री चो ताई युल, शिष्टाचार प्रमुख र विदेश मन्त्रालयका अन्य उच्च अधिकारीको उपस्थिति थियो ।


















