आधुनिक नेपाल राष्ट्रको निर्माणकर्ता पृथ्वीनारायण शाह

60

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पृथ्वीनारायण शाह आधुनिक नेपाल राष्ट्रको निर्माणकर्ता रहेको जनाउनुभएको छ । ३ सय ३ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले पृथ्वीनारायण शाहले स–साना टुक्रामा छरिएका राज्यहरूलाई एकीकरण गरी आधुनिक नेपाल राष्ट्रको निर्माण गरेको जनाउनुभएको हो ।

शुभकामना सन्देशमार्फत राष्ट्रपति पौडेलले स्वर्गीय शाहप्रति श्रद्धाञ्जली व्यक्त गर्दै आधुनिक नेपाल निर्माणमा पृथ्वीनारायण शाहले पुर्‍याउनुभएको योगदानलाई बिर्सन नहुने जनाउनुभएको छ । शुभकामना सन्देशमा भनिएको छ, “आधुनिक नेपालसम्म आइपुग्दा इतिहासको विभिन्न कालखण्डमा वीर पुर्खाहरूले पुर्‍याएको योगदानको निरन्तरताका कारण आज हामी सार्वभौम र स्वतन्त्र नेपाल भनेर गर्व गर्न पाएका छौँ ।” उहाँले स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्ता सम्पन्न, धर्मनिरपेक्ष, समावेशी, लोकतन्त्रात्मक, समाजवादउन्मुख सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यको आधार पनि पृथ्वीनारायण शाहको नेपाल एकीकरण अभियानको निरन्तरता रहेको जनाउनुभएको छ ।

यसै गरी एकता दिवस, पृथ्वी जयन्तीका अवसमा शुभकामना व्यक्त गर्दै उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपालको विविधतामा एकतालाई एकताबद्ध गर्न राष्ट्रिय एकता दिवसले योगदान पुर्‍याएको जनाउनुभएको छ ।

शुभकामना सन्देशमार्फत उपराष्ट्रपति यादवले सिङ्गो नेपालीलाई एकताको सूत्रमा बाँध्न र राष्ट्रिय एकताको भावनालाई थप मजबुत बनाउन राष्ट्रिय एकता दिवसले एउटा महत्वपूर्ण मञ्च प्रदान गरेको जनाउनुभएको छ ।

नेपालको विविधतायुक्त संस्कृति, वेशभूषा, भाषा र धर्महरूको बिचमा एकताको उत्सव मनाउन एकता दिवस महत्वपूर्ण अवसर हुने बताउँदै सन्देशमार्फत भन्नुभएको छ, “मुलुकको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण्ण राखी जनताको सार्वभौम अधिकार, स्वायत्तता र स्वशासनको अधिकारलाई आत्मसात् गर्न राष्ट्रिय एकता दिवसले सबैलाई उत्प्रेरित गर्न सक्नु पर्छ ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here