सागको मिति घोषणाका लागि पाकिस्तान ओलम्पिक कमिटीले बैठक बोलाइयाे

48

काठमाडाैं । १४औं दक्षिण एसियाली खेलकुद (साग) को मिति घोषणाका लागि पाकिस्तान ओलम्पिक कमिटीले बैठक बोलाएको छ। त्यसमा सहभागी हुनुअघि नेपाल ओलम्पिक कमिटीले राष्ट्रिय खेलकुद परिषद र विभिन्न संघलाई पत्र पठाएको छ।

नेपाल ओलम्पिक कमिटीका कार्यकारी सचिव सुजनलाल श्रेष्ठले खेलकुद परिषदलाई नेपालले समावेश गर्न चाहेको खेलको विवरण पठाउन पत्राचार गरेका हुन्। उनले खेल संघहरूलाई पनि बैठकका लागि सुझाव पठाउन पत्रचार गरेको छन्।

आगामी फागुन १३ र १४ गते का लागि पाकिस्तान ओलम्पिक कमिटीका अध्यक्ष आरिफ सइदले बैठक बोलाएका छन्। बैठक पाकिस्तानको लाहोरमा हुनेछ।

सइद दक्षिण एसियाली ओलम्पिक काउन्सिल (एसएओसी) का अध्यक्ष समेत हुन्। १४औं संस्करणको साग गेम्स पाकिस्तानमा हुने पूर्व सहमति छ। जसमा सन् २०२५ मा साग गेम्स हुने निर्णय भएको थियो ।

आगामी महिना हुने बैठकमा सागको मिति, समावेश हुने खेल र आयोजना स्थालबारे छलफल हुनेछ।  बैठकको अवसरमा सहभागी सम्भावित खेल स्थलको पनि भ्रमण गराइनेछ।

सन् २०१९ मा नेपालमा १३औं संस्करणको साग आयोजना भएको थियो। त्यतिबेला नेपालले पाकिस्तानलाई १४औं संस्करणको आयोजकको रुपमा झण्डा हस्तान्तरण गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here