शेरबहादुर देउवालाई पनि प्रधानमन्त्री ओलीसँग एउटै लहरमा

45

काठमाडौं। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा चलिरहेको सत्ता साझेदार दलहरुको बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पनि प्रधानमन्त्री केपी शर्मा ओलीसँग एउटै लहरमा राखिएका छन् ।

यसअघि बालुवाटारमै बस्ने बैठकहरुमा प्रधानमन्त्री ओली मात्रै अगाडि बस्ने गर्थे । देउवासहित अरु शीर्ष नेताहरु प्रधानमन्त्रीको सामुन्नेमा पर्नेगरी दुई लाइनमा राखिने कुर्सीमा बस्दै आएका थिए ।

तर आजको बैठकमा भने प्रधानमन्त्री ओलीसँग एउटै लहरमा देउवाको कुर्सी राखिएको छ । प्रधानमन्त्री ओलीले आजै मात्र एक सार्वजनिक कार्यक्रम मार्फत सरकार चलाउन कांग्रेसबाट पुरा साथ पाइरहेको बताएका थिए ।

‘अहिले मैले नेपाली कांग्रेसबाट साथ पाएको छु । कुनै रिजर्भेसन बिना पुराका पुरा साथ पाएको छु । भोलि कांग्रेसले हामीबाट पुराका पुरा साथ पाउँछ’, प्रधानमन्त्रीले भनेका थिए । प्रधानमन्त्री ओलीले १७-१८ महिनापछि देउवा प्रधानमन्त्री बन्ने पनि जनाएका थिए ।

 

‘अब १७/१८ महिना पछि शेरबहादुरजी प्रधानमन्त्री हुनुहुन्छ । उहाँले चलाउनु हुन्छ । मैले सहयोग गर्छु । नेकपा एमालेले पूराका पूरा सहयोग गर्छ’, प्रधानमन्त्री ओलीले भनेका थिए ।

यस्तो अभिव्यक्ति दिएको केही घण्टाभित्र बालुवाटारमा बसेको सत्ता साझेदारहरुको बैठकमा देउवालाई पनि ओलीले आफूसँगकै लहरमा बस्ने व्यवस्था मिलाएका हुन् । आगामी १८ माघदेखि सुरु हुने संसद बैठकको विजनेशबारे छलफल गर्न यो बैठक बसेको नेताहरुले जनाएका छन् ।

बैठकमा एमालेबाट ओलीसँगै उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल, कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, लोसपा अध्यक्ष महन्थ ठाकुर, नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ, जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सिके) राउत , जसपा नेपालका नेता राजकिशोर यादवलगायत सहभागी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here