कुमारी बैंकको अगुवाइमा अर्धजलाशययुक्त आयोजनाकाे जुट्याे लगानी

61

गोरखा । जिल्लाकाे पालुङटार नगरपालिका, लमजुङको राईनास नगरपालिका र तनहुँको भानु नगरपालिका भएर बग्ने मर्स्याङ्दी नदीमा एमए पावर प्रालिले निर्माण गर्ने ९० मेगावाट क्षमताको मर्स्याङ्दी नदी अर्धजलाशययुक्त जलविद्युत् आयोजनामा कुमारी बैंक लिमिटेडको अगुवाइमा लगानी जुटेको छ।

२०८१ माघ १८ गते सम्पन्न लगानी सम्झौतामा एमए पावर प्रालिका अध्यक्ष अनुप आचार्य र कुमारी बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालको उपस्थितिमा कुमारी बैंक लिमिटेड, प्रभु बैंक लिमिटेड, सिद्धार्थ बैंक लिमिटेड, कृषि विकास बैंक लिमिटेड लगायतका विभिन्न बैंक तथा वित्तीय संस्थाहरूको रु. १५ अर्ब १८ करोड ७५ लाखको संयुक्त लगानीमा आयोजना निर्माण हुने गरी ऋण सम्झौता सम्पन्न भएको हो ।

स्वपुँजी लगानीतर्फ अनुप आचार्य, हरिबाबु न्यौपाने र दिपक बराल रहनेछन्। साथै, डोल्मा इम्प्याक्ट फन्डले कम्पनीमा ४९ प्रतिशतसम्म स्वपुँजी लगानी गर्न पूर्व आवश्यक Due Diligence Study अगाडि बढाएको अध्यक्ष आचार्यले बताए। यही समूहबाट हाल सेतीखोला हाईड्रोपावर लिमिटेडमार्फत २२ मेगावाट क्षमताको सेतीखोला जलविद्युत् आयोजना निर्माण कार्य अन्तिम चरणमा पुगेको छ।

यस आयोजनाको नेपाल विद्युत् प्राधिकरणसँग २०८० साल कात्तिक १ गते विद्युत् खरिद बिक्री सम्झौता सम्पन्न भइसकेको छ। परियोजनाले व्यावसायिक उत्पादन शुरू गर्नुपर्ने मिति (आरसीओडी) २०८६ साल वैशाख २२ रहेको छ।

आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन (ईआईए) स्वीकृतिका लागि सम्बन्धित निकायमा पेश गरिएको अध्यक्ष आचार्यले जनाए । आयोजनाबाट उत्पादित विद्युत् विद्युत्‌गृहदेखि २२० केभी सिंगल सर्किट प्रसारण लाइनमार्फत ११.६ किलोमिटर दूरीमा नेपाल विद्युत् प्राधिकरणको मार्किचोक सवस्टेसनमा २२०/१३२ केभीमा जोडिने भएकाे छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here