काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासमा ५२ संवैधानिक पदाधिकारी नियुक्तिविरुद्धको मुद्दाको सुनुवाइ आज सकिएको छ ।
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको अध्यक्षतामा संवैधानिक इजलासमा आज अभिवक्त ओमप्रकाश अर्याल र वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीले बहस गरे । बहस नसकिएपछि प्रधानन्यायाधीश राउतले बाँकी सुनुवाइ अर्को दिन हुने बताए । उनले अर्को मिति तय गरेपछि खबर गर्ने जानकारी गराए ।
आजै चिया समयअघि बसेको संवैधानिक इजलासले कानुन व्यवसायीसँग छलफल गरेको थियो । चिया समयपछि सुनुवाइ अघि बढेको हो ।
उनीहरूको नियुक्ति बदरको माग गर्दै सर्वोच्च अदालतमा १५ वटा निवेदन दर्ता भएका थिए ।
संविधानमा गरिएको व्यवस्था उल्लंघन हुने गरी अध्यादेश जारी भएको, तत्कालीन सभामुख अग्नि सापकोटालाई जानकारी नगराई संवैधानिक परिषद्को बैठक बसेको र ती पदाधिकारीहरू नियुक्त भएको तथा संसदीय सुनुवाइ पनि नभएको भन्दै कानुन व्यवसायीहरूले नियुक्ति बदर हुनुपर्ने माग राखी रिट निवेदन दर्ता गरेका थिए ।


















