शिक्षामा सरकारी लगानी : छात्रवृत्तिमा मात्र साढे सात अर्ब

47

काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चालु आर्थिक वर्ष २०८१।०८२ मा आधारभूत तहदेखि उच्च तहसम्म अध्ययन गर्ने विद्यार्थीका लागि सात अर्ब ३९ करोड रुपियाँ छात्रवृत्तिबापत वितरण गरेको छ ।

विद्यार्थीको आर्थिक, भौगोलिक तथा अन्य अवस्था हेरेर सरकारले २५ प्रकारको शैक्षिक छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ । यसबाट १५ लाख ७१ हजार विद्यार्थी लाभान्वित भएका छन् । मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो समय विद्यार्थीलाई आवश्यकता अनुसार आवासीयदेखि गैरआवासीय छात्रवृत्ति वितरण हुँदै आएको छ ।

आवासीय छात्रवृत्ति कक्षा १ देखि १२ कक्षासम्मका १२ हजार ६५ विद्यार्थीलाई उपलब्ध गराइएको छ । यसका लागि ६० करोड ३२ लाख रुपियाँ छुट्याइएकोमा केही रकम वितरण भइसकेको छ भने केही वितरण हुन बाँकी छ । आवासीय छात्रवृत्ति अन्तर्गत अपाङ्गता भएका, मुक्त कमलरी, फिडर छात्रावासमा अध्ययनरत छात्रा, सार्वजनिक–निजी साझेदारीमा सञ्चालित नमुना विद्यालयमा स्वीकृत कोटामा अध्ययनरत छात्रछात्रा, हिमाली आवासीय छात्रवृत्ति पर्छन् ।

त्यसबाहेक अति सीमान्तकृत समुदायका विद्यार्थीलाई दिइने छात्रवृत्ति, सडक बालबालिका तथा बालश्रमिकलाई आवासीय प्रबन्धका लागि दिइने छात्रवृत्ति, एचआइभी प्रभावित तथा वादी समुदायका बालबालिकाका लागि दिइने छात्रवृत्ति पनि आवासीय छात्रवृत्ति अन्तर्गत पर्दछन् । यी सबै समूहका विद्यार्थीलाई प्रतिविद्यार्थी वार्षिक ५० हजार रुपियाँको दरले छात्रवृत्ति दिने गरिएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै मन्त्रालयले गैरआवासीय छात्रवृत्ति शीर्षकमा १५ लाख ४० हजार विद्यार्थीलाई आर्थिक सहायता उपलब्ध गराएको छ । यसका लागि ६२ करोड ७० लाख रुपियाँ खर्च भएको मन्त्रालयले जनाएको छ । गैरआवासीय छात्रवृत्ति अन्तर्गत कर्णाली प्रदेशका कक्षा १ देखि ५ सम्म अध्ययन गर्ने सबै विद्यार्थी समेटिन्छन् तर जिल्ला अनुसार छात्रवृत्ति रकम भने भिन्न छ ।

यस अन्तर्गत मुगु, हुम्ला, जुम्ला, डोल्पा र कालीकोट जिल्लाका कक्षा १ देखि ५ सम्मका छात्रालाई वार्षिक एक हजार रुपियाँ र सोही प्रदेशका अन्य जिल्लाका छात्रालाई वार्षिक चार सय रुपियाँको दरले आर्थिक सहायता वितरण हुँदै आएको छ । गैरआवासीय छात्रवृत्ति अन्तर्गत नै मन्त्रालयले कक्षा १ देखि ५ सम्म अध्ययन गर्ने मुलुकभरका दलित विद्यार्थीलाई प्रतिविद्यार्थी वार्षिक चार सय रुपियाँका दरले आर्थिक सहायता वितरण गर्दै आएको छ । यस्तो छात्रवृत्ति पाँच लाख ५२ हजार विद्यार्थीलाई उपलब्ध गराइएको छ । जसका लागि २१ करोड रुपियाँ खर्च भएको छ ।

त्यस्तै मुक्त कमलरी छात्रवृत्ति अन्तर्गत कक्षा १ देखि ८ सम्म (आधारभूत तह) का लागि वार्षिक एकमुष्ट एक हजार पाँच सय, कक्षा ९ र १० का लागि एक हजार आठ सय र कक्षा ११ र १२ का लागि एकमुष्ट वार्षिक पाँच हजार रुपियाँ आर्थिक सहायता वितरण हुँदै आएको छ ।

आधारभूत तह अन्तर्गत कक्षा १ देखि ५ सम्म मात्रै अध्ययनरत लक्षित समूहका २२ जनजाति तथा सीमान्तकृत समूह, मुक्त कमैया, वादी, हलिया र चरुवाका सन्ततिसमेत गरेर ५१ हजार ८८९ जनालाई छात्रवृत्ति प्रदान गरिएको छ । यसका लागि प्रतिविद्यार्थी वार्षिक पाँच सय रुपियाँ उपलब्ध गराइएको छ ।

मन्त्रालयले आवासीय र गैरआवासीयबाहेक विपन्न र लक्षित छात्रवृत्ति शीर्षकमा ११ र १२ मा विज्ञान विषय र प्राविधिक धारसमेत अध्ययन गर्ने विद्यार्थीलाई वार्षिक २४ हजार रुपियाँका दरले अर्को छात्रवृत्ति उपलब्ध गराएको छ । यस्तो छात्रवृत्ति विपन्न र लक्षित समुदायमा सीमित कोटामा मात्रै वितरण गरिन्छ । साथै अन्य विषयमा कक्षा ११ र १२ पढ्ने लक्षित समूहका विद्यार्थीलाई वार्षिक १८ हजार र कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने सम्पूर्ण विद्यार्थीका लागि वार्षिक छ हजार रुपियाँ उपलब्ध गराइएको छ ।

त्यसबाहेक मन्त्रालयले प्राविधिक तथा व्यावसायिक शिक्षा छात्रवृत्ति शीर्षकमा पाँच करोड ९४ लाख रुपियाँ वितरण गरेको छ । यो छात्रवृत्ति विभिन्न चार समूहमा विभाजन गरेर वितरण गरिएको छ । प्रि–डिप्लोमा, डिप्लोमा अध्ययन गर्ने विद्यार्थीलाई यस्तो छात्रवृत्ति वितरण गरिन्छ ।

मन्त्रालयले स्नातक र स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीलाई उच्च शिक्षा छात्रवृत्ति प्रदान गरेको छ । यस्तो छात्रवृत्ति विभिन्न छ शीर्षकमा वितरण गरिएको छ । जसबाट सहिद तथा द्वन्द्वपीडित विद्यार्थी, मुक्त कमलरी, मुस्लिम महिला, अपाङ्गता भएका विद्यार्थी लाभान्वित भएका छन् । यस्ता विद्यार्थीलाई वार्षिक २४ हजार रुपियाँका दरले छात्रवृत्ति दिइएको छ । साधारण विषयका लागि वार्षिक १५ हजार रुपियाँ र प्राविधिक विषयमा वार्षिक २१ हजार रुपियाँ दिइएको छ ।

चिकित्सा शिक्षा छात्रवृत्ति १० हजार ५९४ विद्यार्थीका लागि पाँच अर्ब ११ करोड रुपियाँ वितरण गरिएको मन्त्रालयका प्रवक्ता तथा योजना महाशाखाका सहसचिव शिवकुमार सापकोटाले जानकारी दिनुभयो । पछिल्लो समय विद्यालय तहदेखि विश्वविद्यालय तहसम्मको शिक्षामा सरकारी लगानी बढाउनुपर्ने बहस चलिरहेको छ तर एक वर्षमै साढे सात अर्ब रकम छात्रवृत्तिमार्फत विद्यार्थीलाई वितरण गर्दा पनि सरकारी लगानी पुगेन भन्न नमिल्ने प्रवक्ता सापकोटाले बताउनुभयो ।  सूर्यप्रसाद पाण्डे गाेरखापत्र

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here