उनले स्वास्थ्य, पूर्वाधार, विपद् व्यवस्थापन तथा सहकारी क्षेत्रमा उठाइएका जिज्ञासाबारे जानकारी गराएका हुन्। प्रधानमन्त्री ओलीले स्वास्थ्य पूर्वाधार र रणनीतिक सडक निर्माणमा सरकारको ध्यान आफ्नो अघिल्लो कार्यकालमा निर्वाचन क्षेत्र रणनीतिक सडक तथा प्रत्येक पालिकामा आधारभूत अस्पताल निर्माणको थालनी गरिएको तर सरकार परिवर्तनपछि ती योजना अवरुद्ध भएको उल्लेख गरे।
हालसम्म केही अस्पताल निर्माण सम्पन्न भइसकेको र बाँकी अस्पताल तथा सडकलाई प्राथमिकताका आधारमा निर्माण भइरहेको उनले जानकारी गराए। उनका अनुसार, स्थानीय तहमा ५, १० र १५ शय्याका अस्पताल निर्माणाधीन छन्।
सरकार स्वास्थ्य क्षेत्रमा उच्च प्राथमिकता दिँदै पूर्वाधार र जनशक्ति व्यवस्थापनमा स्रोत साधन परिचालन गरिरहेको छ। उनले निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रम प्रभावकारी सावित भएको बताउँदै हालसम्म ५८ प्रतिशत प्रगति भएको र अधिकांश सडकहरू चालु आर्थिक वर्षमै सम्पन्न हुने जानकारी दिए।
सुरुङमार्ग निर्माणको प्रगति प्रधानमन्त्री ओलीले सिद्धबाबा सुरुङमार्गको ब्रेकथ्रु भइसकेको जानकारी दिँदै २०८३ चैतसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको जनाए।


















