काठमाडौं । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा.रामवरण यादवले अहिले नेपाली जनताले उपभोग गरिरहेका सबै अधिकार प्राप्तिको जग २००७ सालको क्रान्तिको देन भएको जनाएका छन् । राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा कुराकानी गर्दै नेपालको राजनीतिक इतिहासमा फागुन ७ महत्वपूर्ण भएकाले सबै नेपालीले गौरवपूर्ण ढङ्गबाट यो दिवस मनाउन आह्वान गरे ।
फागुन ७ गते लोकतान्त्रिक राजनीतिक स्थापना गर्न मार्ग निर्देशन गरेको बताउँदै उनले मुलुकमा धेरै उतारचढाव हुँदै विसं २०४६ र २०६२/०६३ को जनआन्दोलनमार्फत सामन्ती संस्थाको निर्मूल र नष्ट गरी अघि बढ्न सम्भव भएको धारणा राखे ।
प्राप्त उपलब्धि र विविधताको रक्षा र एकीकरण गर्दै लैजानुपर्ने आजको आवश्यकता भएको बताउँदै पूर्वराष्ट्रपति डा यादवले सबैका राजनीतिक,आर्थिक,सामाजिक र धार्मिक अधिकार तथा न्यायमा पहुँच स्थापित गरी जनताको आशालाई व्यवस्थित तुल्याउन सुझाव दिए ।


















