काठमाडौं । नेपाल र म्यानमार ६ वर्षपछि महिला फुटबलमा फाइनल खेल्दैछन्।
त्रिपुरेश्वरमा रहेकाे दशरथ रंगशालामा फोर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको फाइनलमा नेपाल र म्यानमारले एकअर्काको सामना गर्ने भएकाे छ। खेल साँझ ६ बजे सुरु हुनेछ।
सन् २०१९ को फेब्रुअरीमा नै यी दुई टोलीले भारतको भुवनेश्वरमा भएको हिरो गोल्ड कपको फाइनल खेलेका थिए। त्यति बेला ओलम्पिक छनोटको तयारीका लागि भारतको फुटबल महासंघले हिरो कपको आयोजना गरेको थियो।
नेपाल र म्यानमारबिच त्यति बेला पनि फाइनल र लिग गरि २ वटा खेल भएको थियो। नेपाल फाइनलमा ३-१ र लिगमा ३-० ले पराजित भएको थियो। फाइनलमा नेपालका लागि एक मात्र गोल मन्जलीकुमारी योन्जनले गरेकी थिइन्।
नेपालले अहिले सम्मका म्यानमारसँगको ५ भेटमा हराउन सकेको छैन। नेपालले म्यानमारसँग २०१८ओलम्पिक छनोटमा १-१ को बराबरी खेलेको थियो। हिरो कप पछिको ओलम्पिक छनोटको अर्को खेलमा ३-१ को हार बेहोरेको थियो।
त्यसयताको पहिलो भेटमा आइतवार दशरथ रंगशालामा नेपालले म्यानमारलाई २-२ मा रोकेको थियो। ५ खेलमा १२ गोलको सामना गर्दा नेपालले ५ गोल गरेको छ। पछिल्लो भेटमा मात्र नेपाल एउटा खेलमा २ गोल गर्न सफल भएको थियो।
हिरो कपमा नेपाल, म्यानमार, आयोजक भारत र इरानले एकअर्कासँग खेलेपछि शीर्ष दुई टोलीले फाइनल खेलेका थिए। त्यति बेला नेपालले पहिलो पटक भारतलाई २-१ ले हराउँदा दुवै गोल सावित्रा भण्डारी ‘साम्बा’ ले गरेकी थिइन्।
फोर नेसन्समा यसपटक कीर्गिस्तान र लेबनान सहभागी थिए। यसै वर्ष जुन जुलाईमा हुने एएफसी उमन्स एसिया कप छनोटका लागि यो फोर नेसन्सलाई तयारीका रुपमा हेरिएको छ।
इन्टरनेसनल ब्रेकमा आयोजित यो मौका लाई सदुपयोग गर्न सके नेपालले यसअघि सबै खाले प्रतियोगिताका १२ वटा फाइनलमा बेहोरेको हारमा थोरै मल्हमको काम गर्नेछ।


















