मस्कले अमेरिकामा संसारकै ठूलो घोटाला भएको दाबी

33

एजेन्सी । टेस्ला र स्पेसएक्सका सीईओ एलन मस्कले अमेरिकामा संसारकै ठूलो घोटाला भएको दाबी गरेका छन् । जो रोगनसँगको तीन घण्टा लामो अन्तर्वार्तामा अमेरिकाको संघीय सरकारमा भइरहेको भ्रष्टाचार, ठगी र अनियमितताको उनले खुलासा गरेका हुन् ।

उनले अमेरिकी सरकारको फजुल खर्च नियन्त्रण गर्ने उद्देश्यले आफू सरकारी दक्षता विभाग ‘डज’ नामक संस्थासँग जोडिएको बताउँदै सरकारमा जरा गाडेर बसेका भ्रष्टाचारयुक्त प्रणालीलाई भत्काउन आफूले पहल लिइरहेको बताए ।
मस्कका अनुसार अमेरिकामा भएको आर्थिक घोटाला सरकारी इतिहासकै सबैभन्दा ठूलो हो । उनले पोडकास्टमा भने, ‘यो मानव इतिहासकै सबैभन्दा ठूलो घोटाला हुनसक्छ । ट्रिलियन डलरको घोटाला अहिलेसम्म कहिल्यै भएको छैन ।’

यसक्रममा उनले अमेरिकी सरकारबाट अनुदान लिने गैरसरकारी संस्थामार्फत् भइरहेका अनियमितताबारे पनि खुलासा गरे ।

विशेष गरी, जर्ज सोरोसले एनजीओ प्रणालीलाई ‘सिस्टम ह्याक’ गर्न प्रयोग गरिरहेको आरोप लगाए । ‘सोरसले सानो लगानीमार्फत् सरकारलाई आफ्नो संस्थाहरूलाई अर्बौं डलर दिन बाध्य पार्ने रणनीति अपनाएका छन्’, मस्कले भने ।

मस्कले सरकारी कर्मचारीको अकर्मण्यतालाई पनि उजागर गर्दै सरकारभित्र निष्क्रिय रहेका हजारौं कर्मचारीहरूमाथि प्रश्न उठाए । उनले यसअघि सरकारी कर्मचारीहरूलाई अवकाश लिन भन्दै इमेल पठाएका थिए ।

उनको सो इमेलपछि ७७ हजार कर्मचारीले स्वैच्छिक रूपमा आफ्नो पद त्यागेका छन् । मस्कका अनुसार यी कर्मचारीहरूले आफूहरूको भविष्य सुरक्षित नरहेको महसुस गरेपछि आकर्षक राहत प्याकेज लिएर बाहिरिन थालेका छन् ।

अन्तर्वार्ताको क्रममा उनले ठट्टामै भने, ‘यदि मैले पूर्णरूपमा भ्रष्टाचार समाप्त गरेँ भने, उनीहरूले मलाई मार्नेछन् ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here