काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सुशासन र समृद्धिको बाटोमा तीव्रताका साथ काम गरेर मुलुकलाई अगाडि बढाउन थालेको जनाएका छन् ।
मंगलबार कोशी प्रदेशसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउँदै सरकारले सुशासन र समृद्धिको बाटोमा तीव्रताका साथ काम गरेर मुलुकलाई अगाडि बढाउन थालेको बताएका हुन् । उनले जनताको बलिदानी संघर्षको बलमा प्राप्त संविधानको रक्षा गरी आवश्यकतानुसार जनता र संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा संशोधन गर्दै जाने स्पष्ट पारे ।
प्रधानमन्त्री ओलीले देशको भौगोलिक, सांस्कृतिक र जातीय विविधतालाई मनन् गरेर विविधताबीच एकता कायम गरेर ज्ञान र गौरवको यस नेपाललाई विश्व मानचित्रमा सार्वभौम, लोकतान्त्रिक र समृद्ध बनाउन आग्रह गरे । उनले कोशी प्रदेशमा रहेका प्रचुर सम्भावनाका क्षेत्रलाई प्रदेश सरकारले ध्यान दिनुपर्ने जिकिर गरे । प्रदेश सरकारलाई समस्या परेका बेला संघीय सरकार सदैव साथमा रहेको उनको भनाइ छ ।


















