स्ववियु निर्वाचनमा नेविसंघकाे अग्रता कायमै

54

काठमाडाैं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । पछिल्लो मतपरिणामअनुसार नेपाल विद्यार्थी संघ (नेविसंघ) ले अग्रता लिएको छ ।

जसअनुसार नेविसंघले ९९ क्याम्पसमा स्ववियु सभापति जितेको छ । दोस्रो नम्बरमा रहेको अनेरास्ववियुले हालसम्म ८६ क्याम्पसमा स्ववियु सभापति जितेको छ । त्यस्तै तेस्रो नम्बरमा रहेको अखिल क्रान्तिकारीले ७३ क्याम्पसको स्ववियु सभापति जितेको छ ।

मङ्गलबार सम्पन्न निर्वाचनमा देशभरि ३८ आङ्गिक र दुई सय ५० सम्बन्धन प्राप्त क्याम्पसमा निर्वाचन भएको थियो । केन्द्रीय विश्वविद्यालय लगायत केही आङ्गिक क्याम्पसहरूमा भने निर्वाचन हुन सकेको छैन । ती क्याम्पसमा पनि चाँडै निर्वाचन हुने त्रिविले जनाएको छ ।

यसैबीच काठमाडौं उपत्यकाका आङ्गिक क्याम्पसमा स्ववियु निर्वाचनको मतपरिणाम सार्वजनिक भएको छ ।

नेपाल कमर्स क्याम्पस र महेन्द्ररत्न क्याम्पस ताहाचलमा अनेरास्ववियुका उम्मेदवार विजयी भएका छन् । कमर्स क्याम्पसमा विशाल रोकाहा र महेन्द्ररत्नमा ईश्वर थापा अध्यक्षमा निर्वाचित भएका अनेरास्ववियुका उपाध्यक्ष नारायण घर्तीले जानकारी दिए ।

यस्तै, थापाथली इन्जिनियरिङ र महाराजगञ्ज नर्सिङ क्याम्पसमा नेपाल विद्यार्थी सङ्घका उम्मेदवार विजयी भएका छन् । थापाथलीमा प्रल्हाद खड्का र महाराजगञ्जमा विन्दु पोखरेल अध्यक्षमा निर्वाचित भएका नेविसङ्घका प्रवक्ता सुरज सेजुवालले जानकारी दिए ।

यस्तै, अनेरास्ववियु (क्रान्तिकारी)ले जनप्रशासन क्याम्पस र सानोठिमी बहुमुखी क्याम्पस भक्तपुरमा विजय हासिल  गरेको छ । क्रान्तिकारीका महासचिव रोशन मगरका अनुसार जनप्रशासनमा अनिकेत तिवारी र सानोठिमीमा नरेन्द्र ठगुन्ना अध्यक्ष निर्वाचित भएका छन् ।

पुल्चोक इन्जिनियरिङ क्याम्पसमा स्वतन्त्र उम्मेदवार स्वयं श्रेष्ठ निर्वाचित भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here