त्रिवि क्रिकेट मैदान पुनर्निर्माण जारी

45

काठमाडौं। त्रिवि क्रिकेट मैदान कीर्तिपुर हाल पुनर्निर्माणको जारी रहेको छ ।

हालसम्मलाई देशको एकमात्र अन्तर्राष्ट्रिय क्रिकेटको भार थेग्दै आएको कीर्तिपुर मैदानमा निर्माण संरचना थपिन लागेका हुन् । माटोको ढिस्कामा बसेर हेर्नुपर्ने बाध्यतामा अब कंक्रिट प्यारापिट थपिन लागेका हुन् । साथै यसमा फ्लडलाइट पनि जडान हुनेछ । त्यसपछि रात्रिकालीन क्रिकेट पनि आयोजना गर्न सकिने छ ।

दुई साताअघि पुनर्निर्माणको कार्य सुरु भएको थियो । वैशाख २४ गते भित्र यसको निर्माण कार्य सकिने सहरी विकास मन्त्रालयले जनाएको छ ।

‘कीर्तिपुर क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय मापदण्डअनुरूप प्यारापिट निर्माण कार्य र फ्लडलाइट जडानको काम ०८१ फागुनमा सम्झौता भई २०८२ वैशाख २४ गतेभित्र सम्पन्न गर्ने गरी निर्माण कार्य अघि बढिरहेको छ,’ सहरी विकास मन्त्रालयका प्रवक्ता सहसचिव नारायण मैनालीले जनाए।

कीर्तिपुर मैदान निर्माणकै क्रममा रहेकाले अप्रिलमा हुने अफगानिस्तान यू–१९ विरुद्ध नेपाल यू–१९ ले खेल्ने तीन युथ एकदिवसीय खेल र यू–१९ को एसिया क्षेत्रको विश्वकप छनोट खेल मूलपानीको दुई मैदानमा सारिएको छ । तीन महिनाअघि भएको नेपाल प्रिमियर लिग (एनपीएल) मा ठूलो संख्यामा दर्शक हेर्न आएका कारण कीर्तिपुर मैदानको संरचना निकै सानो भएको थियो ।

त्यसअघि पनि नेपालले विशेषगरी अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दा कीर्तिपुर मैदानलाई दर्शक धान्न हम्मे हम्मे पर्दै आएको थियो । प्यारापिट निर्माणपछि यसमा १० हजार दर्शक बसेर हेर्न सक्ने छन् । कीर्तिपुर मैदानमा पुर्ननिर्माणका कार्य सम्पन्न भएपछि फेरि यसमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता सञ्चालनमा आउने छ ।

त्रिभुवन विश्वविधालयसँग लिजमा लिएर नेपाल क्रिकेट संघ (क्यान) ले यो मैदानमा क्रिकेट गर्दै आएको छ । हालको संरचना भारतको जी टेलिभिजन नेटवर्कले बनाइदिएपछि नेपालले सन् १९९८ मा पहिलो पटक यस मैदानमा अन्तर्राष्ट्रिय प्रतियोगिता गर्दै आएको छ । त्यसयता यस मैदानमा लगातार राष्ट्रिय प्रतियोगिता आयोजना गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here