दलित परिवारमाथि उठिबास लगाएको विषयमा प्रश्न उठ्याे

48

काठमाडौं । सिराहाको औरही गाउँपालिका–५ स्थित विष्णु महायज्ञ गर्न दलित (डोम) परिवारमाथि उठिबास लगाएको विषय प्रतिनिधिसभामा उठेको छ।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै सांसदहरूले पीडित परिवारलाई न्याय दिन माग गरेका छन्।

यही चैत १७ गतेबाट सुरु गर्न लागिएको विष्णु महायज्ञका लागि स्थानीय दीपक मरिक (डोम) को घर भत्काइएको हो । पीडित परिवार अहिले त्यहाँबाट विस्थापित भएको छ ।

नेपाली कांग्रेसका सांसद जीवन परियार, रास्वपा सांसद मनिष झा, जनमत पार्टीका सांसद अब्दुल खान, स्वतन्त्र सांसद अमेरशकुमार सिंह, सम्झना थपलिया, रणेन्द्र बराली, प्रभु हजारा, शान्ति विक लगायतले आपत्ति जनाएका छन् ।

सांसदहरुले औरही गाउँपालिका अध्यक्ष शिवजी यादव र जनमत पार्टीका पालिका अध्यक्ष दिलीप यादवसहितले डोम परिवारको घर भत्काइदिएको बताउँदै उनीहरूलाई कारबाही र पीडितलाई क्षतिपूर्ति दिन माग गरे।

महायज्ञ गर्न आएका बाबाको निर्देशनमा गाउँपालिका अध्यक्ष यादव र जनमत पार्टीका गाउँपालिका समिति अध्यक्ष यादवले जेसीबी लगाएर दीपक मरिक (डोम)को घर भत्काएको आरोप छ।

बुधबार पीडित दिपककी श्रीमती अनिता मरिकले आफूहरू बस्दै आएको घर भत्काएर अन्यत्र सर्न लगाइएको बताएकी थिइन्। मरिक परिवार वर्षौँदेखि बस्दै आएको सो स्थानमा भने महायज्ञको तयारी गरिएको छ। घरको माटो समेत खनेर फ्याँकिएको पीडित परिवारको धारणा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here