इन्द्रनारायण सुबेदी, इलाम
विभेदका बिरुद्धमा खुँडा उठाउने तिमी
समान न्याय नीतिका कुरा उठाउने तिमी
अजश्र राष्ट्रभक्तिका सशक्त चन्द्रभाल हौ
नवीन क्रान्ति ल्याउने अजन्य पुष्पलाल हौ।१।
स्वदेशभित्र लोकले अनेक कष्ट पाउँदा
खटेर स्वेद मूल्य त्यो किसानले नपाउँदा
निफन्न न्यायका कुरा लिएर स्वच्छ दर्पण
स्वदेशनिम्ति जीन्दगी गर्यौ स्वयं समर्पण ।२।
तिमी हिमालझैँ उठ्यौ लिएर ज्योति क्रान्तिको
नसा छिमोल्न दुष्टका प्रपञ्चको र भ्रान्तिको
हजार लाख उर्लिए पछाडि हेलिनेहरू
अनेक शक्तिकेन्द्रले थिचेर पेलिनेहरू ।३।
परास्त गर्न देशका थिचोमिचो र शोषण
अशक्तमाथि झम्टिने विषालु नागका फण
उचाल्न एकता गरी समस्त लोकका जन
नवीन चेतना दियौ दिशा र दृष्टि दर्शन ।४।
सकेन जेलनेलले विचार त्यो गलाउन
अजेय स्वाभिमान त्यो सशस्त्रले ढलाउन
बहन्छ राष्ट्र भावना नसा र रक्त विन्दुमा
न छेक्दथ्यो बहावले पसेर खेल्न सिन्धुमा।५।
जहाँ स्वदेश गुज्रियो अभाव नै अभावमा
जहानियाँ र दासता कुलीनको प्रभावमा
थिएन हातमा कुनै किसानवर्गको जिमी
दिएर जोत पोत नै भलो चिताउँथ्यौ तिमी।६।
असंख्य रोग शोकमा दरिद्रता र भोकमा
विजाति जाति वर्गका अभेद्य रोकटोकमा
निसान लाउने कडा अलङ्घ्य युद्ध हौ तिमी
भलाइ देशको लिने नवीन बुद्ध हौ तिमी।७।
उराठ लाग्छ सम्झिँदा अपाच्य आजका कुरा
लुछाचुँडी जताततै घृणा र लाजका कुरा
सिकार गर्न झम्टिने विषालु बाजका कुरा
भनूँ म पुष्पलाल के नशा र ताजका कुरा।८।
सही छ दृष्टिकोण त्यो विचार दूरदर्शिता
नवीन मार्ग लक्ष्यको तिमी स्वयं विनिर्मिता
विशुद्ध योजना थिए उचाल्न जीर्ण झोपडी
लिएर हातमा सधैँ अभेद्य क्रान्तिको छडी।९।
(क.पुष्पलालकाे जन्म शतबार्षिकीकाे उपलक्षमा सामयिक भएकाेल पुनर्प्रकाशित)

















