काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक वर्षको बजेटबारे सरकारलाई १०१ बुँदे सुझाव प्रस्तुत गरेको छ।
सोमबार सिंहदरबारमा आयोजित एक कार्यक्रमकाबीच नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसमक्ष १०१ बुँदे सुझाव पेश गरेका हुन्।
सो अवसरमा अध्यक्ष अग्रवालले कृषि, पर्यटन, ऊर्जा क्षेत्रको विकास, रोजगारी सिर्जना, व्यावसायिक र औद्योगिक लगानीको वातावरण तथा उत्पादन वृद्धिलाई पहिलो प्राथमिकतामा राखेर सरकारले बजेट निर्माण गर्नुपर्नेमा जोड दिए।
उनले यी समृद्धिका महत्वपूर्ण आधारहरू रहेको बताउँदै सरकारले प्रमुख प्राथमिकतामा राखेर बजेट निर्माण गर्नुपर्ने नेपाल चेम्बर अफ कमर्सको धारणा रहेको बताए। उनले समयमै पुँजीगत खर्च गर्न समयबद्ध तालिकासहितको कार्ययोजना बनाउनुपर्ने र प्रत्येक त्रैमासमा यसको समीक्षा गर्नुपर्ने आफूहरूको माग रहेको उल्लेख गरे।
सरकारले लिएको आर्थिक वर्षको लक्ष्य पूरा गर्न नीतिगत स्थायित्वका साथै वास्तविक कर तथा राजस्वको स्रोत परिचालनबाट एवं प्रतिबद्धता प्राप्त वैदेशिक सहायताको आधारमा यथार्थपरक बजेट ल्याउनुपर्ने चेम्बर अफ कमर्सले माग राखेको छ।
यस्तै, चेम्बर अफ कमर्सले स्थानीय स्रोतमा आधारित खनिजजन्य रत्न पत्थर, कृषि जडीबुटी तथा वनजन्य उद्योगहरूलाई प्रोत्साहित गरी निर्यात प्रबन्ध गरिनुपर्ने, राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण विभागलाई अर्थ मन्त्रालयअन्तर्गत ल्याई भन्सार तथा आन्तरिक राजस्व विभागसँग समन्वय गरी गरिनुपर्नेसमेत सरकारसँग माग राखेको छ।
















