काठमाडौं । जिल्ला हुलाक कार्यालयमा बचत बैंकको रकम दुरुपयोग गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
बचतकर्ताबाट उठेको बचत रकम साँवा ब्याज गरी ५ करोड ३५ लाख ६४ हजार रुपैयाँ बढी रकम हिनामिना गरेको खुलेको अख्तियारको दावी छ। उनीहरूविरुद्ध ५ करोड ३५ लाख ६४ हजार २७९ रुपैयाँ बिगो कायम गर्दै कैद र जरिवाना माग गरिएको छ।
बचतकर्ताको पाँच करोड बढी रकम हिनामिना गरेको आरोपमा जिल्ला हुलाक कार्यालय बाराका कार्यालय प्रमुख बलीराम प्रसाद कुर्मी, यसअघिका कार्यालय प्रमुखहरुसहित ६ जना विरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।
आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार उही कार्यालयमा नासु तहदेखि कार्यरत रही हाल कार्यालय प्रमुख भएका कुर्मीले २०६० सालदेखि नै बचत बैंकको जिम्मा लिँदै आएको र बचत कुनै अभिलेख नराखी अपचलन गरेको पाइएको जानकारी दिए।
अघिल्ला कार्यालय प्रमुखहरुसमेतको मिलोमतोमा बचतकर्ताको करम अपचलन गर्दै आएको पाइएको अख्तियारले अभियोगपत्रमा उल्लेख गरेको छ।
आयोगले हुलाक कार्यालय बाराका तत्कालीन कार्यालय प्रमुखहरू जयलाल प्रसाद साह कानू, अदालतप्रसाद कुर्मी, बुन्नीप्रसाद यादव, सुरेन्द्रप्रसाद यादव र सुजितकुमार साहविरुद्ध भ्रष्टाचारको आरोपपत्र दायर गरिएको छ।


















