काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले विदेशबाट फोन गरेर लोडसेडिङ भयो भन्दै दुःख दिने गरेको गुनासो गरेका छन् ।
बुधवार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै खड्काले विदेशबाट फोन गरेर बत्ती गयो भन्दै दुःख दिने काम भइरहेको जनाए ।
विद्युत् अवरुद्ध हुँदा नेपाल विद्युत् प्राधिकरणले कारणसहित सूचना दिने गरेको खड्काले स्पष्ट पारे ।
‘लोडसेडिङ हल्ला मात्रै’
मन्त्री खड्काले लोडसेडिङको चर्चा सामाजिक सञ्जालको हल्ला मात्रै भएको जिकिर गरे । ‘लोडसेडिङको हल्ला सामाजिक सञ्जालको हल्ला मात्रै हो । बेला बखत विद्युत् विच्छेद हुने अवस्था आजमात्रै होइन,’ उनले भने, ‘विगतको वर्षको डाटा हेर्ने हो भनेपनि वर्षमा ७ सय घण्टासम्म यसरी विभिन्न पटक विद्युत् गएको पाइन्छ, कहिले हावाहुरी, कहिले ठूला-ठूला पोल ढलेका कारण, कहिले मान्छेकै कारण पनि चढेर दुर्घटना भएका कारण, पानी, असिनाका कारण पनि अवरुद्ध भएको पाइन्छ ।’
उनले कहीँ मर्मत गरेको बेलामा विच्छेद हुने बाहेक लोडसेडिङको अवस्था यो वर्ष नरहेको जिकिर गरे । ‘अब आगामी त झनै हुने खालको अवस्थै देखिँदैन । किनभने हामी उत्पादन बढाइरहेका छौँ,’ उनले भने ।
नेपालमा विद्युत् उत्पादन बढिरहेको उनले बताए ।‘बजारमा केही चर्चा भएको छ । हामीले यो हिउँदमा १ हजार ५ मेगावाटसम्म विद्युत् आयात गर्यौँ । आवश्यकताअनुसार ६ सय, सात सय घट्दै आएर यहाँको विद्युत् बढ्दै जाने, आयात घट्दै जाने अवस्थामा छ र थियो,’ उनले भने ।
मन्त्री खड्काले सरकारले विद्युत निर्यात गरिरहेको बताए । ‘अस्तिको दिनसम्म पनि हामी साढे ३ सय मेगावाट विद्युत आयात गरिरहेका थियौँ । तर आजको रेकर्डअनुसार १ सय ५० मेगावाट निर्यात गरेका छौँ । हामीलाई विद्युत पुगेर, उब्रिएर, निर्यात गरेका छौं,’ उनले भने ।
‘उद्योगधन्दाहरूमा जति मात्रामा चाहिने बिजुली दिएका छौं’
मन्त्री खड्काका अनुसार उद्योगधन्दाहरूमा पर्याप्त विद्युत् दिएको दाबी गरेका छन् । यो हिउँदमा पर्याप्त विद्युत् दिन नसकेको भए पनि मंगलबार रातिबाट उद्योगधन्दालाई पुग्नेगरी विद्युत् दिइएको जनाए ।
‘हामीले उद्योगधन्दामा यो हिउँदमा पर्याप्त विद्युत् दिन सकिरहेको थिएन । आज रातिबाट उहाँहरुलाई पुग्नेगरी दिएर त्यसबाट पनि उब्रिएको भन्डै डेढ सय मेगावाट अहिले पनि निर्यात भइरहेको छ,’ उनले भने, ‘यथार्थपरक रहेर संप्रेषण गर्न सकियो भने जनता लाभान्वित हुन्छन् । सोसल मिडियाको दुरुपयोग पनि भइरहेको छ ।’
मन्त्री खड्काले विद्युतको बजार सुनिश्चित भएको बताए । उनले आन्तरिक खपत पनि अबका १० वर्षमा साढे १३ हजार मेगावाट हुने अनुमान रहेको जानकारी दिए ।


















