सहकारी विषयवस्तुमा चलचित्र बनाएकाे ‘महाभोज’ काे प्रिमियर

23

काठमाडौं । सहकारी पीडितको सहभागितामा चलचित्र ‘महाभोज’ले प्रिमियर आयोजना गर्‍यो । निर्माताले यो प्रदर्शनलाई ‘विशेष प्रिभ्यू शो’को नाम दिएका छन् ।

क्यूएफएक्सको सिभिल मलस्थित सेन्ट्रल सिनेमामा मंगलबार बेलुका आयोजित प्रिमियरमा ६० जना सहकारी पीडित सहभागी थिए । उनीहरूलाई समस्याग्रस्त सहकारी संस्थाबाट पीडित प्रतिनिधिको रुपमा छनोट गरिएको निर्माताले जनाएका छन् ।

प्रदर्शन अवधिभर हलमा भावनात्मक माहौल देखिएको थियो । चलचित्रले आफूहरूको जीवनको यथार्थ झल्काएको अनुभव सुनाउँदै पीडितले कथावस्तुले आफूहरूलाई न्यायको लडाइ लड्न सशक्त बनाएको जनाए ।

सञ्चारकर्मीसामु नाराबाजीसहित उनीहरूले भने, ‘राज्यले नसुनेको पीडितको आवाज ‘महाभोज’ले पर्दाबाट भनेको छ ।’

उनीहरूले निर्देशक दिनेश राउत, निर्माता हिमाल कडरिया, पटकथाकार विकास सुवेदी र कलाकारलाई फिल्मको शुभकामना दिए । उनीहरूको भनाइमा, ‘महाभोज’ मनोरञ्जनको माध्यम मात्र नभएर आन्दोलनको स्वर समेत बनेको छ, जसले राज्य संयन्त्रमाथि नै गहिरो प्रश्न उठाएको छ ।

देशभरका हलले चलचित्रको अग्रिम टिकट बिक्री थालेकाछन् । यो चलचित्रमा  दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, वसुन्धरा भुसाल र मोहन निरौलाको शीर्ष अभिनय छ ।

सहकारी संस्था सम्बन्धी एउटा सामाजिक विषयवस्तुमा चलचित्र आधारित छ । सहकारी संस्थामा बचत गरेको रकम डुबेपछि उत्पन्न हुने परिस्थितीलाई मर्मस्पर्शी ढंगले चित्रण गरिएको छ ।

क्लक वर्क क्रियशन र पिक्चर फ्रेमको संयुक्त प्रस्तुति रहेको यो फिल्मले नेपालसँगै विदेशका केही मुलुकमा समेत एकसाथ प्रदर्शनको तयारी गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here