रास्वपाले भिजिट भिसा प्रकरणमा संसदमा थप सशक्त बन्दै

21

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठकले पार्टी सभापति रवि लामिछानेमाथि दर्ता गरिएका मुद्दा तथा भिजिट भिसा प्रकरणसम्बन्धी संसदीय गतिविधिबारे गहन छलफल गर्दै एकढिक्का भएर अघि बढ्ने निर्णय गरेको छ। साथै, असार ७ गते पार्टीको तेस्रो स्थापना दिवस अवसरमा ‘लुटतन्त्रको खारेजी एवं सुसंस्कृत राजनीतिको संवर्द्धनका लागि सडक र संसदमा’ मूल नारासहित देशव्यापी अभियान सञ्चालन गर्ने निर्णय गरेको छ।

सचिवालय बैठकमा भिजिट भिसा प्रकरणमा संसदीय दलको प्रयास प्रशंसायोग्य रहेको भन्दै अझ सशक्त रुपमा संसदमा प्रस्तुत हुन निर्देशन दिइएको छ।

त्यस्तै पार्टीका केही विभागमा नयाँ मनोनयन र जिम्मेवारी हेरफेर गरिएको छ। पार्टी उपसभापति डा. स्वर्णिम वाग्लेलाई ‘नीति तथा विचार विभाग’ का प्रमुख र सन्तोष परियार उपप्रमुख तोकिएका छन्। त्यस्तै मनिष झा ‘अभियान तथा प्रचारप्रसार विभाग’को नेतृत्वमा रहनेछन् भने राजन गौतम ‘कृषि विभाग’को प्रमुखमा नियुक्त भएका छन्।

त्यस्तै पार्टीले वैकल्पिक राजनीति पक्षधर समूहलाई एकत्रित गर्न ‘सहकार्य–संवाद कार्यदल’ गठन गर्ने भएको छ। साथै, पार्टीको पहिलो महाधिवेशनलाई लक्षित गर्दै सातै प्रदेशमा संगठन अभियान सञ्चालन गरिनेछ।

स्थापना दिवसकै दिन बिहान ७ बजे पार्टी केन्द्रीय कार्यालय, चःमति–वनस्थलीमा केन्द्रीय समिति बैठक बस्ने जनाइएको छ।

नक्कली उजुरी प्रकरण र छानबिन समिति गठन

‘सांसद सुमना श्रेष्ठको निर्देशनमा नक्कली उजुरी’ सम्बन्धी समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै पार्टीले यसलाई गृहमन्त्रीद्वारा संसदको रोष्ट्रमबाट दिइएको धम्कीको रणनीतिक निरन्तरता मानेको छ।

पार्टीले कुनै प्रोत्साहन नदिएको स्पष्ट पार्दै प्रा.डा. चन्दा कार्की भण्डारीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको छ। समितिमा वरिष्ठ अधिवक्ता डा. नारायण घिमिरे र पूर्व एसएसपी लव बिष्ट सदस्य छन्।

स्याङ्जा घटना र इजरायल–इरान द्वन्द्वमा सरकारलाई आग्रह

स्याङ्जाको आँधी खोलामा दोहनको विरोधमा केन्द्रीय सदस्य मेघ आलेमाथि नेपाली कांग्रेसका वडाध्यक्ष सुनिल खनालले रड प्रहार गरेको घटनाप्रति रास्वपाले गम्भीर आपत्ति जनाएको छ। पार्टीले दोषीलाई कानुनी कारबाहीको माग गर्दै घाइतेहरूको उपचार तथा कानुनी सहायता सुनिश्चित गर्ने बताएको छ।

त्यसैगरी, इजरायल–इरान तनावका बीच त्यहाँ रहेका नेपाली नागरिकहरूको सुरक्षित उद्धारका लागि तत्काल पहल गर्न सरकारसँग माग गरिएको छ।

प्रवक्ता मनिष झाको हस्ताक्षरमा जारी विज्ञप्तिमा भनिएको छ, “पार्टी कुनै पनि दबाब वा हिंसाबाट विचलित नहुने र अझ दृढताका साथ जनपक्षीय एजेन्डामा अडिग रहनेछ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here