चलचित्रले मनोरञ्जन प्रदान गर्नुका साथै भाषा, कला र संस्कृतिको संरक्षण गर्ने

18

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले चलचित्रले मनोरञ्जन प्रदान गर्नुका साथै भाषा, कला र संस्कृतिको संरक्षण गर्ने जनाए ।

आइतबार चलचित्र विकास बोर्डको सभाहलमा आयोजित आदिवासी जनजाति चलचित्र महोत्सवको पाँचौँ संस्करणको समापन समारोहलाई सम्बोधन गर्दै मन्त्री गुरुङले आफ्नो भाषाका चलचित्र, साहित्य र सङ्गीतका गतिविधि बढाउन आग्रह  गरे ।

उनले भने, ‘हामी सबैको भाषा नेपाली हो, तर हामी जनजातिको आफ्नो भाषा छ, त्यसलाई पनि अगाडि बढाउनु पर्छ । हामीले आफ्नो भाषा बोल्न छाडेकै कारण त्यो नयाँ पुस्तासम्म पुग्न सकेको छैन । अहिलेका नयाँ पुस्तालाई आफ्नो भाषा आउँदैन, संस्कृतिका बारेमा ज्ञान निकै कम छ। त्यसैले हामीले मातृभाषाको प्रयोग गरी चलचित्र, साहित्य र गीत सङ्गीत निर्माण गर्नुपर्छ ।’

‘आदिवासी जनजाति चलचित्रको प्रवर्द्धन, मौलिक भाषा संस्कृतिको संरक्षण’ भन्ने नाराका साथ यही असार ६ देखि सुरु भएको ‘पाँचौँ आदिवासी जनजाति चलचित्र महोत्सव’ मा मौलिक कला–संस्कृति, भाषा, धर्म, परम्परा, प्रथाहरूको दस्तावेजीकरण, संरक्षण, प्रवर्द्धन गरिएको आयोजक आदिवासी जनजाति चलचित्र महासङ्घले जनाएको छ ।

असार छ गतेदेखि आयोजित तीन दिने महोत्सवमा लिम्बु भाषाको ‘रचे’ ले सर्वोत्कृष्ट फिल्मका साथै सर्वोत्कृष्ट निर्देशक को पुरस्कार जित्न सफल भयो । यस फिल्मका निर्देशक सागर केरुङ हुन् । यस्तै गरी मगर भाषाको ‘ट्याङ्गचलाक’ का लेखक मेक बहादुर पुन मेजनले सर्वोत्कृष्ट पटकथाकार र गुरुङ भाषाको ‘मि थों’ का लागि राज बहादुर गुरुङ राजेशलाई सर्वोत्कृष्ट छायाङ्कन को पुरस्कार प्रदान गरेकाे  छ। यस्तै गरी नेवार समुदाय को ‘स्रिंकिंग सिभिलाइजेशन अफ काठमाडौं भ्याली’ लाई सर्वोत्कृष्ट डकुमेन्ट्री र मगर समुदाय को ‘खिल’ लाई सर्वोत्कृष्ट लघुचलचित्रको पुरस्कार प्रदान गरिएकाे छ । आयोजकका तर्फबाट महासंघका कार्यवाहक अध्यक्ष भुइसाल लामाको अध्यक्षतामा सम्पन्न सो महोत्सवको निर्णायकमा अग्रज पत्रकार विजयरत्न तुलाधर, प्रथम महिला छायाँकार शबनम मुखिया र तामाङ फिल्मका अग्रज निर्देशक हिरालाल बोल्न रहेका थिए ।

समापन समारोहमा महोत्सव निर्देशक प्रतिमाया पुन मगर, महासंघका पूर्व अध्यक्ष अमृत सुनवार, पूर्व सांसद रिता माझी निर्णायक विजयरत्न तुलाधर लगायतले आ-आफ्नो कुरा राखेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here